७ जेष्ठ २०८१, सोमबार

नयाँ समीकरण खोज्दै एमाले

kp oli 6 .jpg

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि दोस्रो स्थानमा समेटिएको नेकपा एमाले आगामी सरकार आफ्नै नेतृत्वमा गठन गर्ने गृहकार्यमा छ । गठबन्धन दलभित्र शक्ति बाँडफाँटमा देखिएको असमझदारीको फाइदा उठाउने रणनीति एमालेको छ ।

गठबन्धनले संघमा सरकार बनाए प्रदेशमा समेत आफूहरू पाँच वर्षसम्म सत्ता बाहिरै बस्नुपर्ने भय एमालेका नेताहरूमा छ । तर उसलाई सरकार बनाउने गरी बहुमत जुटाउन सहज भने छैन ।

मंसिर ४ को निर्वाचनपछि एमालेले पहिलो पार्टीको हैसियत मात्र गुमाएको छैन, संघसहित सबै प्रदेश सरकारबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेको छ । तर उसले नयाँ समीकरण बनाएर लाभका पदमा पुग्ने मनसाय भने कायमै राखेको छ ।

सत्ता गठबन्धनका दलहरूलाई सरकार बनाउन दिए एमालेले केन्द्र र प्रदेश सरकारको नेतृत्व मात्र गुमाउँदैन, राज्यका शक्ति बाँडफाँटमा पनि पछि पर्ने छ । त्यसलाई राम्ररी बुझेका एमाले नेताहरू अहिले गठबन्धन दलभित्रै खेल्ने प्रयासमा छन् । तर त्यो सहज देखिँदैन ।

पाँच वर्षसम्म प्रतिपक्षको भूमिकामा बस्नु नपरोस् भनेर एमाले नेताहरू अहिले सकभर आफ्नै नेतृत्वमा बहुमत पुर्‍याउने कसरतमा छन् । एकातिर गठबन्धन तोड्ने र अर्कोतर्फ साना दललाई विश्वासमा लिने वातावरण बनाउन लागेका एमालेका नेताहरूको प्रयासमा अहिलेसम्म खासै प्रगति भएको देखिँदैन ।

एमालेको कुनै पनि प्रदेशमा एकल बहुमत छैन । प्रदेश १, गण्डकी र लुम्बिनीमा पहिलो दल बने पनि उसलाई सरकार बनाउन अरूको साथ चाहिन्छ । त्यसैले एमालेले सत्ता गठबन्धन तोड्ने र नयाँ समीकरण बनाएर संघदेखि प्रदेशसम्म आफ्नो उपस्थिति बनाउन चाहन्छ ।