१३ बैशाख २०८१, बिहीबार

लकडाउन खुकुलो बनाउने विषयमा मन्त्रिपरिषद‍्मा छलफल, मोडालिटी तयार पार्ने जिम्मा कोभिड १९ उच्च स्तरीय समितिलाई

Cabinet Meeting
फाइल फोटो

मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई खुकुलो बनाउने विषयमा भएको छलफलमा लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ ।

बिहीबार रातिसम्म बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेश गर्न उच्च स्तरीय समितिलाई जिम्मा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यस विषयमा छलफल भएपनि ठोस निर्णय भने हुन बाँकी रहेको जानकारी दिए ।

समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने ती मन्त्रीको भनाइ छ ।

केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।

सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न चौतर्फी दवाव सरकारमाथि छ ।

यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए । परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री पनि यसबारे सकारात्मक देखिएका थिए ।

सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन थप गर्दै ७० दिन भन्दा बढी पुर्‍याइसकेको छ ।