१६ चैत्र २०८०, शुक्रबार

वैदेशिक लगानीको वातावरण नै बन्न सकेन

lagani nrn

वैदेशिक लगानी भित्र्याउन सरकारले विभिन्न प्रयास गरिरहेको छ । ऐन संशोधन, एकल बिन्दु सेवा केन्द्र र लगानी बोर्ड जस्ता छुट्टै निकायको स्थापना गर्दा समेत विदेशी लगानीमा उल्लेखनीय सुधार आउन सकेको छैन । स्वीकृत विदेशी लगानीमध्ये एक तिहाई आएको देखिन्छ ।

लगानीको सीमा उच्च राखेको भन्दै आलोचना भएपछि बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले वैदेशिक लगानीको न्यूनतम सीमा ५ करोडबाट दुई करोड कायम गरेको छ ।

सरकारले बैदेशिक लगानी भित्र्याउन गरेको प्रयास यो मात्रै होइन । लगानीकर्तालाई विभिन्न निकायमा धाउनुपर्ने अवस्था अन्त्य गर्ने भन्दै सरकारले लगानी बोर्ड र उद्योग मन्त्रालयमा एकल बिन्दु सेवा केन्द्र स्थापना गरेको छ । तर, यी दुवै निकाय प्रभावकारी हुन सकेका छैनन् ।

उद्योग विभागका अनुसार अहिलेसम्म सरकारले ४ खर्ब १९ अर्बको लगानी स्वीकृत गरेको छ । तर, राष्ट्र बैंकको तथ्यांक हेर्दा प्रतिवद्धता गरिएको रकमको एक तिहाइ अर्थात १ खर्ब ३० अर्ब रकममात्रै भित्रिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा ५५ अर्ब प्रतिवद्धता भएकोमा त्यसपछिका वर्षमा भने कोभिड लगायतका कारणले प्रतिवद्धता केही खुम्चियो । वास्तविक भित्रिने रकम १९ अर्बमा सीमित भएको छ । कर्मचारीतन्त्रको कमिसन मोहका कारण सिर्जित उल्झन्, स्थानीय वासिन्दा र व्यवसायीको अवरोधका कारण प्रतिवद्धताअनुसारको रकम आउन नसकेको हो ।

लगानी भित्र्याउनका लागि लगानी सम्मेलन पनि हुने गर्छन् । तर, कर्मचारीको व्यवहारमा सुधारसागै रकम ल्याउन र फिर्ता लैजान सहज वातावरण तयार गर्न नसक्दासम्म वैदेशिक लगानी बढाउन कठिन छ ।