
मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई खुकुलो बनाउने विषयमा भएको छलफलमा लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ ।
बिहीबार रातिसम्म बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेश गर्न उच्च स्तरीय समितिलाई जिम्मा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यस विषयमा छलफल भएपनि ठोस निर्णय भने हुन बाँकी रहेको जानकारी दिए ।
समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने ती मन्त्रीको भनाइ छ ।
केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।
सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न चौतर्फी दवाव सरकारमाथि छ ।
यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए । परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री पनि यसबारे सकारात्मक देखिएका थिए ।
सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन थप गर्दै ७० दिन भन्दा बढी पुर्याइसकेको छ ।