२१ बैशाख २०८१, शुक्रबार

सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिललाई स्तब्ध पार्दै क्रोएसिया सेमिफाइनलमा

Croatia vs Brazil

 कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा क्रोएसियाले सेमिफाइनलमा स्थान पक्का गरेको छ । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई टाइब्रेकरमा ४-२ ले स्तब्ध पार्दै क्रोएसिया लगातार दोस्रो पटक टाइब्रेकरमा जित हासिल गर्न सफल भयो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल बराबरी गरेपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको थियो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

टाइब्रेकरमा क्रोएसियाका निकोलस भ्लासिचले गोल गर्दै अग्रता दिलाए । जवाफमा ब्राजिलका रोड्रीगोको प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए । त्यसपछि क्रोएसियाका लोभ्रो माएरले गोल गर्दा क्यासेमिरोले पनि कुनै गल्ती गरेनन् । क्रोएसियाका लागि लुका मोड्रीचले तेस्रो प्रहारमा गोल गरेपछि ब्राजिलका पेड्रोले पनि गोलरक्षकलाई गलत दिशामा पठाए ।

Croatia Worldcup2022

चौथो प्रहारमा क्रोएसियाका मिस्लाभ ओर्सिचले गोलरक्षक एलिसनलाई बिट गर्दै अग्रता कायम राखे । ब्राजिलको चौथो प्रहारमा मार्किन्हसले पोस्टमा प्रहार गरेपछि क्रोएसिया सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । अघिल्लो खेलमा जापानलाई टाइब्रेकरमा पराजित गरेको क्रोएसिया लगातार दोस्रो खेलमा जित हासिल गर्न सफल भयो ।

अतिरिक्त समयको पहिलो हाफ सकिनै लाग्दा नेयमारले सुन्दर गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उक्त गोलसँगै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने पेलेको कीर्तिमान समेत बराबरी गरे । नेमारले १२४ खेल खेल्दै पेलेको कीर्तिमान बराबरी गरेका हुन् । पेलेले ९२ खेलमै उक्त उपलब्धी हासिल गरेका थिए । नेमारको गोलपछि जित नजिक पुगेको ब्राजिलले अग्रता कायम राख्न सकेन भने ११७औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । क्रोएसियाका लागि बेन्चबाट मैदान छिरेका ब्रुनो पेत्कोभिचले ५ मिनेट समय बाँकी रहँदा गोल गर्दै खेल पुन: बराबरीमा ल्याए ।

अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिर आफैं सुरु गरेको मुभलाई ६ यार्ड बक्सभित्र गोलरक्षकलाई समेत छलाउँदै गोल गरेका थिए । नेयमारले पेनाल्टी क्षेत्र बाहिरबाट लुकास पाक्वेटालाई पास दिएर आफू भित्र पसे । त्यसपछि डिफेन्डरको चुनौती चिर्दै उनले गोलरक्षकलाई बिट गर्दै सुन्दर गोल पूरा गरे ।

दोस्रो हाफको ४ मिनेट समय बाँकी रहँदा क्रोएसियाले बराबरी गोल फर्कायो । पेत्कोभिचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । बायाँ विंगबाट मिस्लाभ ओर्सिचले दिएको पासमा पेक्तोभिचले गरेको प्रहार डिफेन्डरलाई लाग्दा गोलरक्षक एलिसनले बचाउने अवसर नै पाएनन् । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टीशूटआउटमा हराएको थियो ।

क्रोएसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिस सबैले गोल गरे । क्रोएसियाका लागि गोलकिपर फेरी नायक बने । उनले ब्राजिलका रोड्रिगोको पहिलो प्रहार नै बचाएका थिए । ब्राजिलका लागि कासेमिरो र पेड्रोले मात्र गोल गरे ।

आज हुने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्नेछन् । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुनेछ ।

Croatia Team Semifinal Worldcup2022
croatia