२१ बैशाख २०८१, शुक्रबार

नेदरल्यान्ड क्वाटरफाइनलमा प्रवेश

netherland

फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा नेदरल्यान्ड प्रवेश गरेको छ । शनिवार भएको अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै डच टोली अन्तिम ८ मा प्रवेश गर्न सफल भएको हो । नेदरल्यान्ड समूह ‘ए’ को विजेता तथा अमेरिका समूह ‘बी’ को उपविजेता हो ।

पहिलो हाफमै २-० को अग्रता लिएको नेदरल्यान्डको जितमा विंगब्याकद्वय डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले १-१ गोल गरे । खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । इन्ज्युरी समयमा नेदरल्यान्डले अग्रता दोब्बर पार्यो । डेली ब्लिन्डले डम्फ्रिजको क्रसमा गोल गर्दै डच टोलीलाई २-० ले अघि बढाए ।

दोस्रो हाफमा अमेरिकाले आक्रमणमा परिवर्तन गर्दै रणनीति बदल्यो । त्यसपछि केहि सुधारिएको आक्रमणमा अमेरिकाले गोल गर्दै खेलमा पनि फर्कियो । हाजी राइटले अमेरिकाको लागि फर्काएको गोल सान्त्वनामा सिमित भयो । नेदरल्यान्डले पुन: एकपटक दुई विंग ब्याकको भरपुर सदुपयोग गर्दै दुई गोलको अग्रता बनायो ।

७६ औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काए । क्रिस्टियन पुलिसिचले दिएको लो क्रस ६ यार्ड बक्समा राइट र डच डिफेन्डरहरुको बिचमा आउँदा बल उनको खुट्टामा लाग्दै गोल भएको थियो । डम्फ्रिजले गोललाइनबाट बललाई क्लियर गर्न खोजेपनि उनको प्रयास सफल हुन सकेन ।

त्यसको ५ मिनेटपछि नै नेदरल्यान्डले दुई गोलको अग्रता पुन: स्थापना गर्यो । ८१औं मिनेटमा डेन्जल डमफ्राइसले गोल गर्दै नेदरल्याण्ड्सलाई ३-१ को अग्रता दिलाए । डेली ब्लिन्डको पासमा डम्फ्रिजले सुन्दर फिनिस गर्दै डच टोलीलाई क्वाटरफाइनलमा पुर्याए ।

समूह ए को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको नेदरल्यान्डले अब क्वाटरफाइनलमा आजै हुने दोस्रो खेलको विजेतासँग खेल्नेछ । राउन्ड अफ १६ को दोस्रो खेलमा आज अर्जेन्टिना र अष्ट्रेलिया भिड्दैछन् ।

dutch team