२३ बैशाख २०८१, आईतवार

अर्याललाई पराजित गुरुङ निर्वाचित

Dhanraj Gurung vs Padma Kumari Aryal

स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् ।

शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ रह्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाए । १ लाख १६ हजार ६७८ मतदाता रहेकाे क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।

यो क्षेत्रबाट २०७४ सालमा एमालेबाट अर्याल नै निर्वाचित भएकी थिइन् । ०७४ मा बाम गठबन्धनबाट उम्मेदवार भएकी अर्यालले कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठलाई झन्डै ३६ सय मतान्तरले पराजित गरेकी थिइन् । तर यसपटक गोपालमानले प्रत्यक्ष चुनाव लडेनन् भने धनराज सोही क्षेत्रमा उम्मेदवार बने ।

४ मंसिरमा भएको मतदानका क्रममा नेपाली कांग्रेसले केही मतदान केन्द्रमा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । निर्वाचन आयोगले १४ मंसिरमा पुनः मतदान नगर्ने निर्णय गर्‍यो । त्यसपछि मतगणना सुरु भएको थियो ।

    सम्बन्धित समाचार...