१७ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता: गठबन्धनलाई निरन्तरता दिने र नयाँ सरकार गठनको गृहकार्य गर्ने छलफल

Prachand deuba
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही गठबन्धन नै कायम रहने बताएका छन् । शनिबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि कुराकानीमा दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्री देउवाजीसँग छलफल भयो, आजको भेटवार्तामा चुनावको नतिजाबारे समिक्षा भयो, हामीले यो गठबन्धन कायमै राख्ने सहमति गरेका छौं ।’ अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको बताएका छन् ।

चुनावको नतिजा नआउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई फोन गरेर सहकार्यको प्रस्ताव राखेपछि देउवाले पनि यसअघि नै दाहाललाई फोन गरेका थिए ।

उक्त फोनवार्तामा पनि देउवाले सरकार गठनबारे सहकार्यको प्रस्ताव राखेका थिए । आज भएको भेटमा पनि देउवाले सरकार गठनको विषयमा छलफल गरेका हुन् । दाहालले भने प्रदेशदेखि संघसम्म नै अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

उनले भने,‘अब निर्वाचनको सबै नतिजा आओस, त्यसपछि हामी फेरि छलफलमा बस्छौं । र, सरकार गठनलगायत समग्र निर्वाचनको विषयमा बृहत्त समिक्षा गर्छौं । तर, यो गठबन्धन कायम रहन्छ । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ ।’ पछिल्लो मतपरिणामले पनि सत्ता गठबन्धन बहुमतर्फ अग्रसर देखिएको छ।

प्रदेशमा सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने बहुमत पुगेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने देखिएको छ ।

गठबन्धनका दलहरुको बैठक छिट्टै बोलाउने निर्णय पनि प्रधानमन्त्री र प्रचण्डले गरेका छन् । सरकारमा सहभागी दलहरुकै भावी सरकार बनाउने गरी छलफल गर्न बैठक बोलाउने दुई नेता बीच सहमति बनेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

परियारले भने , ‘गठबन्धनलाई इन ट्याक राखेर सरकार गठन सहित अरु विषयमा छलफल गर्न गठबन्धनका दलको बैठक बोलाउने सहमति बनेको छ ।’