१४ बैशाख २०८१, शुक्रबार

७० करोड घुसकाे आरोपलाई काभ्रेका जनताले खारेज गरिदिएः गोकुल बास्कोटा

gokul baskota

एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका छन् ।

मतपरिणामअनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे । अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए । ५५ हजार ५२६ मत ल्याएका उनी धेरै मतान्तरसहित विजयी हुनेमा थिए । तर, यसपटक भने उनले कांग्रेस उम्मेदवारसँग निकै प्रतिस्पर्धा गर्नुपरेको छ ।

एमालेका धेरैजसो पदाधिकारीले निर्वाचन हार्दै गर्दा बास्कोटा भने विजयी भएका छन् । काभ्रे १ मा पनि एमालेकै रेशम लामाले माओवादीका उम्मेदवार सूर्यमान दोङलाई पछाडि पारेका छन् । काभ्रेका चार प्रदेशसभा सदस्यमा भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीले चुनाव जितेका छन् ।

७० करोड घुसकाे आरोपलाई काभ्रेका जनताले खारेज गरिदिए

एमाले स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको आरोप जनअदालतले खारेज गरिदिएको बताएका छन् । 

काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताएका हुन् । 

‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरु कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब इतिहासको गर्तमा विलिन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएको छ,’ बास्कोटाले भने ।

नेता बास्कोटाले नयाँ सरकारको भविष्यबारे केही नबोल्ने बताए । ‘अहिले नै त्यस विषयमा बोल्नु उपयुक्त हुन्न,’ उनले भने ।