१७ बैशाख २०८१, सोमबार

यी हुन् बलियो संगठन भएपनि पराजित भएका चर्चित राजनीतिक हस्तीहरु

neta

प्रतिनिभिसभाको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । यस बीचमा केही चर्चित हस्तिहरु पराजित भएका छन् । यो क्रम थप बढ्दै जाने संकेत देखिएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनको परिणाम धमाधम आइरहेका छन् । केही स्थानमा यसपटक अनपेक्षित परिणाम आउँदा धेरै चर्चीत उम्मेदवार पराजित भएका छन् । यसरी पराजित हुनेमा बलियो संगठन भएका सत्तागठबन्धन र नेकपा एमाले, जनता समाजवादी पार्टीका उम्मेदवार पनि छन् ।

यी हुन् चर्चित पराजित

ईश्वर पोखरेल
नेकपा एमालेबाट पराजित मध्ये सबैभन्दा शीर्ष नेता हुन् वरिष्ठ उपाध्यक्ष पोखरेल । अघिल्लो निर्वाचनमा कांग्रेसका डा प्रकाशशरण महतलाई भारी मतान्तरले हराएका पोखरेल यो पटक कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित हुनुभयो । यसअघि काठमाडौं ५ बाट निर्वाचित पोख्रेल यसपटक ५ हजार ६२ मतान्तरले पराजित हुनुभयो ।

उपेन्द्र यादव
०६२र०६३ को जनआन्दोलनपछि भएको मधेस आन्दोलनबाट उदाएका यादव यो चुनावसँगै कमजोर बन्नुभएको छ । कुनैबेला सरकार बनाउने र गिराउने हैसियतमा पुगेको यादवको दल यो निर्वाचनपछि निकै कमजोर मात्रै बनेको छैन सप्तरी–२ मा जनमत पार्टिका अध्यक्ष डा सीके राउतसँग स्वयं लज्जास्पद हार व्यहोर्न बाध्य हुनुपरेको छ ।

ओनसरी घर्ती
नेकपा माओवादी नेतृ एवं पूर्व सभामुख ओनसरी घर्ती मगर काठमाडौं २ बाट पराजित हुनुभयो । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोभिता गौतमले ५ हजार ७ सय ८० मतान्तरले पराजित गर्नुभयो ।

रामकुमारी झाँक्री
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री गुल्मी २ मा पराजित हुनुभयो । उहाँलाई पराजित गर्दै एमाले सचिव गोकर्ण विष्ट चौंथोपटक जित्न सफल हुनुभयो । एकीकृत समाजवादीका प्रवक्ताजगन्नाथ खतिवडा पिन उदयपुर(२ बाट एमालेका अम्बरबहादुर रायमाझीसँग पराजित हुनुभएको छ ।

रवीन्द्र मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र यसपटक पनि पराजित हुनुभयो । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग मिश्र झिनो मतान्तरले परािजत हुनुभएको हो ।

राजन भट्टराई
काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले जितको ह्याट्रिक गर्दा नेकपा एमालेका नेता राजन भट्टराई फराकिलो मतान्तरमा पराजित हुनुभयो ।

जीवनराम श्रेष्ठ
नेकपा एकीकृत समाजवादीका सचिव एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि पराजित हुनुभयो । काठमाडौं ८ मा सत्तागठबन्धनकातर्फबाट उम्मेदवार रहेका श्रेष्ठलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ निर्वाचित हुनुभयो । सोही क्षेत्रमा चर्चामा रहेका उम्मेदवार सुमन सायमी पनि परािजत हुनुभयो ।

भीमसेनदास प्रधान
नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान काठमाडौं ६ मा पराजित हुनुभयो । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले पराजित गर्दा काठमाडौं ६ मा प्रधान ह्याट्रिक गर्नबाट रोकिनुभयो । त्यस्तै सोही क्षेत्रमा उमाले उम्मेदवार रहनुभएका नेपाल प्रहरीका पूर्व महानिरिक्षक सर्वेन्द्र खनाल पनि पराजित हुनुभयो ।

मानुषि यमी भट्टराई र रामवीर मानन्धर
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराई काठमाडौं ७ मा पराजित हुनुभयो । सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहेकी मानुषी तेस्रोे हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित हुनुभयो । सोही क्षेमा पूर्वमन्त्री रामवीर मानन्धर पनि पराजित हुनुभयो ।

मोहम्मद इस्तियाक राई
जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राई बाँके २ बाट पराजित हुनुभयो । उहाँलाई राप्रपाका उम्मेदवार धवलशमशेर राणाले पराजित गर्नुभयो ।

काठमाडौं-९ मा माओवादीकी कल्पना धमला र साझा पार्टी नेपालका मिलन पाण्डे पराजित भए। पाण्डेले दुई हजार ३२७, राप्रपाका देवेन्द्र प्रधानले चार हजार ७८५, माओवादीकी धमलाले ६ हजार ४०२, रास्वपाका टेकबहादुर पोखरेलले १० हजार ९६१ र एमालेका कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत पाए।

काठमाडौं-१० मा माओवादी नेत्री अञ्जना विशंखेले पाँच हजार २६२ मत प्राप्त गरिन्। यो क्षेत्रमा कांग्रेसका राजेन्द्र केसीले १४ हजार ४५८, एमालेका हिमेश केसीले ११ हजार ७८६ र रास्वपाका प्रदीप विष्टले आठ हजार ७३६ मत पाए।

पर्सा-१ बाट उम्मेदवारी दिएका लोसपा नेता लक्ष्मणलाल कर्ण चौथो स्थानमा आए। कर्णले एक हजार ११६ मत पाए। यो क्षेत्रमा राप्रपाका किरण डंगोलले दुई हजार ६५९, कांग्रेसका बागी अजय द्विवेदीले २० हजार ९१७ र जसपाका प्रदीप यादवले २२ हजार ५३७ मत पाए।

जसपा नेता मोहम्मद इश्तियाक राई बाँके-२ मा राप्रपा नेता धवलशमशेर राणासँग पराजित भए। राईले २३ हजार ५२० र राणाले २९ हजार ५७७ मत पाए। यो क्षेत्रमा कांग्रेसका सुदीपनरसिंह राणाले चार हजार ४०३ मत ल्याए।

कैलाली-३ मा एमालेका गौरीशंकर चौधरी नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीसँग पराजित भए। गंगारामले २३ हजार १२० र गौरीशंकरले नौ हजार ८७४ मत पाए। यो क्षेत्रमा माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ४४९ मत पाए।