१२ बैशाख २०८१, बुधबार

भुपेन्द्र राई भारी मतले विजयी खोटाङ प्रदेश ‘ख’ मा

bhupendra rai

प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार खोटाङको प्रदेशसभा ‘ख’ मा भुपेन्द्र राई विजयी भएका छन् ।

गठबन्धन (नेपाली कांग्रेस)का उम्मेदवार राईले निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार राम प्रसाद दंगाललाई २ हजार १४० मतले पछि पार्दै विजयी भएका हुन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बुधबार राती मुख्य निर्वाचन अधिकृत(जिल्ला अदालत)को कार्यालयमा ३३ हजार ४०९ मतगणना हुँदा गठबन्धनका उम्मेदवार राईले १६ हजार ४९६ मत पाएका थिए । एमालेका उम्मेदवार दंगालले १४ हजार ३५६ मतमा चित्त बुझाएका छन् ।१ हजार १९९ मत बदर भएको छ ।

राई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रदेश १ कार्य समितिका महामन्त्री हुन् । २०३५ साल असार १५ गते साविकको याम्खा गाविसस्थित रातमाटामा जन्मिएका राईले महेन्द्रोदय प्राथमिक विद्यालय लिलिमा याम्खाबाट प्रारम्भिक शिक्षा सुरु गरेर २०५२ सालमा महेन्द्रोदय माध्यमिक विद्यालय डाडाँगाउँ ओख्रेवाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए ।

प्रवेशिका परीक्षा उतिर्णसँगै विधार्थी राजनीतिमा सक्रिय राईले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौबाट विए, २०६२/०६३ सालमा त्रिभुवन विश्व विद्यालय र्कितिपुरवाट इतिहास विषयमा स्नातकोत्तर र इतिहास विषयमा प्रथम श्रेणीमा प्रथम स्थान हाँसिल गरेका थिए ।

२०५५ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघ इकाईको उपसभापति भएका उनी सोही वर्ष भएको स्ववियु निर्वाचनमा नेविसंघका तर्फवाट उपसभापतिको उम्मेद्वार बने । २०५७ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसको नेविसंघ इकाई सभापति भएका उनले त्यही वर्षको स्ववियु निर्वाचनमा सभापतिको उम्मेद्वारी दिए, २०६० सालमा सोही क्याम्पसमा भएको स्ववियु निर्वाचनमा पुनः सभापतिका उम्मेद्वारी दिएर तर, पराजित भएका थिए ।

नेविसंघ सभापति प्रदीप पौडेलको कार्यकाल २०६३ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका राई २०६८ सालमा नेपाली कांग्रेस विधार्थी विभागको केन्द्रीय सदस्य बने । पाँचौ जिल्ला अधिवेशन अन्तर्गत क्षेत्रिय सभापतिमा उम्मेद्वारी पनि दिए । फलस्वरुपः निर्वाचित क्षेत्रिय सभापतिले पार्टीका विरुद्ध बागी उम्मेद्वारी दिएपछि भएको विशेष क्षेत्रिय अधिवेशनमा पनि क्षेत्रिय सभापतिका उम्मेद्वारी दिएका उनी जिल्ला कार्य समिति सदस्य बने र संगठन विभाग प्रमुख भएर जिम्मेवारी सम्हाले ।

छैंटौ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसवाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
कांग्रेसको सातौ जिल्ला अधिवेशनबाट पुनः महाधिवेशन प्रतिनिधि चुनिएका राईलाई खोटाङ कांग्रेसमा गोल्ड मेडलिष्ट भन्ने गरिन्छ । राईलाई विकास निर्माण र जनताका दुःख सुखका सहयात्री भनेर चिन्ने गरिन्छ ।

प्रदेश ‘ख’ मा कूल ३३ हजार ४८० मत खसेको थियो । जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमकुमार राईले ९३५, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार विमला राईले १०१, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यान प्रसाद ढकालले १०९, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका उम्मेदवार सुवास राईले ३१३ मत पाएका छन् ।

    सम्बन्धित समाचार...