२२ बैशाख २०८१, शनिबार

मङ्सिर ४ पछि राष्ट्रवादी शक्तिहरु सम्मिलित सरकार बन्छ : ओली

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ पछि राष्ट्रवादी शक्तिहरु सम्मिलित सरकार बन्ने बताउनुभएको छ ।

शुक्रबार झापाको भद्रपुरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धनको सरकार बनेपछि देश विकास ठप्प भएको जिकिर गर्नुभयो । मङ्सिर ४ मा हुने निर्वाचन परिवर्तनकारी शक्ति र यथास्थितिवादी शक्तिहरुबीचको प्रतिस्पर्धा भएको उहाँको भनाइ छ ।

झापा क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई मत माग्दै अध्यक्ष ओलीले राप्रपासहित राष्ट्रवादी शक्तिहरुको बहुमतसहितको सरकार बन्ने दाबी गर्नुभयो ।

एमाले नेतृत्वको सरकारले नेपालमा विकासको नयाँ अवधारणा ल्याएर विकासको लहर ल्याएको भन्दै उहाँले १५ महिना यता गठबन्धन सरकार बनेपछि विकास निर्माणका कार्यहरु ठप्प बनेको बताउनुभयो । हरेक विकास योजनाहरुमा बजेट काटिएको उहाँले आरोप लगाउनुभयो ।

अधुरा विकास निर्माणका कामहरु पूरा गर्न एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्नुभयो । अब पहिलाजस्तो धेरै वटा राजनीतिक दलहरु राष्ट्रिय पार्टी नबन्ने उहाँको भनाइ थियो ।

आवश्यकताका आधारमा तालमेल भएकाले तालमेल भएका क्षेत्रमा एमालेले कसैलाई धोका नदिने ओलीले बताउनुभयो ।