६ जेष्ठ २०८१, आईतवार

चोरीका घटना बढे सप्तरीमा

Saptari Police

चाडपर्वको समयमा सप्तरीमा चोरीका घटनामा वृद्धि भएको छ । बढ्दो बेरोजगारी, लागुऔषध दुर्व्यसनी र पेशा नै चोरी बनाएकाहरुबाट सप्तरीमा चोरीका घटना बढेको प्रहरी अनुसन्धानले देखाएको छ ।

गएको साता मात्र राजविराजस्थित तेतरी गाछी र ट्राफिक कार्यालय छेउमै रहेको तीनवटा पसलमा चोरी भयो । स्थानीयले दुई जनालाई रंगेहात पक्राउ गरी प्रहरीको जिम्मा लगायो । त्यसअघि असोजको पहिलो सातामा राजविराज ७ स्थित हटियाको तीन तल्लै घरमा सिसि क्यामेरा तोड्दै ६ लाख बढीको चोरी भयो । यस्तै असोजमै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ सडेपार गाउँमा पनि चोरी भयो ।

सप्तरीमा चोरीका घटना श्रृंख्लाबद्धढंगले बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरी नियन्त्रण गर्न छुट्टै चोरी नियन्त्रण शाखा नै गठन गरेको छ ।

लागुऔषध सेवन गर्ने जमात र बढ्दो बेरोजगारीकै कारण चोरी बढेको देखिएको छ भने केही घटनामा बालबालिकाको समेत प्रयोग भएको छ । यता सुरक्षाकर्मीले नियमित गस्ती नगरेको कारण चोरीका घटना बढिरहेको गुनासो सर्वसाधारणले गरेका छन् ।

पछिल्लो दुई आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने सप्तरी प्रहरीले चोरीका १ सय ८ वटा मुद्दामा १ सय ३६ जनामाथि कारबाही गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म ११ जनालाई पक्राउ गरी चोरीका घटना हुन नदिन चनाखो रहेको दाबी जिल्ला प्रहरी कार्यालय सप्तरीले गरेको छ ।

सप्तरीमा चोरीका घटना बढेपछि नियन्त्रण गर्न र शान्तिसुरक्षा कायम गर्न माग गर्दै स्थानीयहरुले सडकमासमेत प्रदर्शन गरेका छन् ।