१४ बैशाख २०८१, शुक्रबार

शुक्रवार रातिबाट हटाइयो महोत्तरीको भंगाहामा लगाइएको कर्फ्यु

Himsa Mahottari2022 10 27 04 21 111

नगरपालिका– ८ पररियामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाउने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गरी शुक्रवार राति १० बजेबाट कर्फ्यु हटाइएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जारी गरेको सूचनामा भनिएको छ, ‘शान्ति सुरक्षा कायम गर्न सो क्षेत्रमा कात्तिक १० गते ४ बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश गरिएकोमा हाल शान्ति सुरक्षाको स्थितिमा सुधार आई सामान्यिकरण भएको देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६क को उपदफा ५ बमोजिम कात्तिक ११ गते राति १० बजेदेखि लागू हुने गरी कर्फ्यु हटाइएको छ ।’

यसअघि शुक्रवार नै गृह मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य रहनुभएको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैले आआफ्नो ठाउँबाट पहल गर्ने निर्णय गरेको थियो ।

भंगाहा– ८ को पररिया टोलमा हिजो सामाजिक सद्भाव बिथोलिने गरी दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जनाभन्दा धेरै घाइते भएपछि दिउँसो ३ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।