१७ बैशाख २०८१, सोमबार

पूर्वप्रधानमन्त्रीहरूले संसदीय टिकटको लोभ त्याग्नुपर्छ : बाबुराम भट्टराई

Dr. baburam bhattarai
फाइल फोटो

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरूले संसदमा जाने इच्छालाई बिट मार्नु पर्ने बताउनुभएको छ ।

शुक्रबार छोरी मानुषी यमीलाई भोट माग्न पुग्नुभएका भट्टराईले सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी गराएर नै आफू संसद्भन्दा बाहिर बसेको बताउनुभयो ।

भट्टराईले बहुदलीय ब्यवस्थाको उदयपछि नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई दिइएको ‘अफर’ अस्वीकार गरेको जनाउँदै त्यागले मात्रै नेताहरू महान हुने जिकिर गर्नुभयो । शान्ति प्रक्रियामा आएपछि पहिलोपटक संघीय संसदमा निर्वाचन नलडेका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले काठमाडौं ७ बाट निर्वाचन लडिरहेकी छोरीलाई भोट माग्दै पूर्वप्रधानमन्त्रीहरूले पनि संसदमा जान छाडेर युवा पुस्तालाई नेतृत्व हस्तान्तण गर्नु पर्ने धारणा राख्नुभयो ।

पदमा बसेर मात्रै मान्छे महान हुँदैन भन्ने गणेशमानको त्यागले देखाइसकेको उहाँको भनाइ थियो । अब पूरानो पुस्ताले लोभलालच छोडेर पूर्वप्रधानमन्त्री भइसकेकाहरुले संसदीय मोह त्याग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थिर सरकार दिएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता नेता भट्टराईले औंल्याउनुभयो ।

भट्टराईले सत्ता गठबन्धनका प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी दिएर आफूले संसदीय निर्वाचन नलड्ने निर्णय लिएकोसमेत बताउनुभयो ।

सत्तागठबन्धन आवद्ध दलले काठमाडौं ७ मा आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा माओवादी अध्यक्ष दाहालको पनि उपस्थिति रहेको थियो ।