१३ बैशाख २०८१, बिहीबार

बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदै छ : अध्यक्ष भट्टराई

baburam

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व माओवादीहरुले पार्टीलाई जनवादीकरण गर्न नयाँ पुस्तालाई अगाडि ल्याउन आवश्यक रहेको बताएका छन् । आज (आइतबार) काठमाडौंमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व नछाडेको तर्फ लक्षित गर्दै अभिव्यक्ति दिएका हुन् ।

‘जनयुद्धको समयमा हामीले भनेका थियो, स्टालिनले गल्ति गर्नुभयो । अन्तिम बेलासम्म आफैं कुर्सीमा बस्ने गर्नुभयो । त्यही माओले गर्नुभयो । संसार भरिका कम्यनिष्टले त्यही गर्दा नयाँ विचार र नेतृत्व विकसित हुन सकेन । पुस्तान्तरण हुन सकेन । त्यसले गर्दा कम्युनिष्टहरुले हारे । मैले एउटा अठोट गरेको छु, अब तपाईँहरु नयाँ पुस्ता आउनु पर्छ । म हार्ने भएर र कसैले नलड भनेर चुनाव नलडेको होइन । गोर्खाका जनताले जिताएकै थिए । अहिले पनि जिताउँछन् । तर, मैले म ६९ वर्ष भईसके । फेरि कुर्सीमा बस्ने लोभ गर्ने ? कति चोटी प्रधानमन्त्री हुने ? एक पटक प्रधानमन्त्री बनेपनि उही फोटो टास्ने हो । दश पटक प्रधानमन्त्री बनेपनि एउटै फोटो टाँस्ने हो,’– उनले भने ।

आफू माओवादी पृठभूमिको भएकोमा आफूलाई गर्व भएको उनले बताए । माओवादी पृष्ठमूमिको हुँ भन्नलाई आफूलाई कुनै आपत्ति नभएको उनले बताए । अब माओवादी भनेर पुच्छर राखेर पार्टी बनाउनुको आवश्यकता नभएको उनको टिप्पणी छ । अहिलेको अवस्थामा नयाँ प्रकारको निति बनाएर अगाडि बढ्न आवश्यक रहेको उनले बताए । पार्टी एकता भन्दा अगाडि गम्भीर बहस हुनुपर्ने उनले बताए । अहिले माओवादी आन्दोलनप्रति आक्रमण गर्ने प्रयास भइरहेको उनको ठहर छ । ‘अहिले माओवादी आन्दोलनप्रति आक्रमण गर्ने प्रयास भइरहेको छ । माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भएको छ । बहालवाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने हो ? यो निहु खोजेको होइन ? तीन वर्ष अगाडिको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई मुद्धा लगाएर गिरफ्तार गर भन्नु जिस्किएको होइन ? निहुँ खोजेको हो ?,’– उनले प्रश्न गरे ।

यस्ता आरोपहरुलाई निश्तेज पार्नका लागि विचार मिल्नेहरुले एक ठाउँमा आउन आवश्यक रहेको उनले बताए । साथै विचार फरक हुनेसँग पनि मोर्चाबन्दीबाट आन्दोलन र उपलब्धी जोगाउन पर्ने उनको भनाई छ । यस्ता मुद्दामा सहकार्य आवश्यकता रहेको उनको बुझाई छ ।