नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गिरफ्तारीप्रति आफ्नो पूर्ण सहानु्भूति रहेको बताएका छन् । आज (शनिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्दोष कसैलाई पनि फसाइन नहुने बताए । उनले लोकतन्त्रमा विधिको शासन र पारदर्शिता हुनुपर्ने उनको भनाइ छ ।
‘जुन ढंगले उहाँलाई आरोप लगाइएको छ, त्यसमा सत्यता नभएपनि यो प्रक्रियाको निरुपणमा म सघाउँछु भनेर आफैंले बोलिसक्नु भएको हुनाले उहाँप्रति मेरो पूर्ण सहानुभूतिका साथ यसलाई उहाँले पार गर्नुहुनेछ । हाम्रो पार्टीको धारणा चाहीँ के हो भने, लोकतन्त्र भनेको विधिको शासन हो । पारदर्शिता हुनुपर्छ । विधिको शासनमा चल्नुपर्छ । जो–कोही भएपनि कसैलाई पनि अन्याय गर्न मिल्दैन । कोही निर्दोष छ भने कसैलाई पनि फसाइनु हुँदैन,’– उनले भने ।
फरक प्रसंगमा उनले बुढीगण्डकीदेखि सहकारी ठगी काण्डसम्म छानविनका लागि अधिकार सम्पन्न आयोग बनाउनुपर्ने आवश्यक्ता औंल्याए । आफूले माओवादीमा रहँदादेखि नै भ्रष्टाचारको छानविनका लागि बलियो जनलोकपाल गठनको माग गरेको पनि उनले स्मरण गराए । उनले आयोग बनेको खण्डमा बुढीगण्डीको बारेमा थाहा भएको सबै जानकारी दिने बताए । डा. भट्टराईले बुढीगण्डकीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार गरेको आरोप लगाउँदै आएका छन् ।
‘बुढीगण्डकी, ओम्नीदेखि लिएर सहकारी ठगीसम्म यी सबै काण्डहरुको छानविन गर्नका लागि एउटा बलियो संस्था बन्नुपर्यो भन्ने हाम्रो भनाइ हो । नयाँ शक्ति अभियानको बेलादेखि नै, माओवादीमा छदाखेरी नै मैले बलियो जनलोकपाल गठन गरौं भनेकै हो । संसद्बाट बोलेको छु । त्यसलाई छानविन गर्न सक्नुपर्छ । एउटा बुढीगण्डकीमात्रै होईन, यस्ता थुप्रै बुढीगण्डकीको छानविन गर्ने संस्था बनाऔं । बाबुराम भट्टराईले आफूले जानेदेखेको सबै कुरा भन्ने छ,’– उनले भने ।