१६ बैशाख २०८१, आईतवार

संविधान, लोकतन्त्र र राष्ट्रका रक्षा निम्ति निर्वाचनपछि पनि गठबन्धन कायमै रहन्छ : अध्यक्ष दाहाल

gathbandhan

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान, लोकतन्त्र र राष्ट्रका रक्षा निम्ति गठबन्धन कायमै रहने बताउनुभएको छ ।

पोखरामा शुक्रवार आयोजित गठबन्धनको प्रादेशिक भेलामा बोल्दै अध्यक्ष दाहालले गठबन्धन गोरुगाढा सिद्धान्तको विपरित बनेको दाबी गर्नुभयो ।

पाँचदलीय गठबन्धन निर्वाचनमा जानका लागिमात्र नबनेको भन्दै उहाँले ठूलो मिहिनेत र छलफलपछि गठबन्धन बनेको प्रष्ट पार्नुभयो । उहाँले गठबन्धन पछाडिको सिद्धान्तलाई नजरअन्दाज गर्न नहुने जिकिर गर्नुभयो ।

पाँच दलका शीर्ष नेता सबै एक भएको सन्देश दिन प्रदेशस्तरीय भेलामा आफूहरु हिँडेको बताउँदै उहाँले देशलाई घातकरूपमा पछि धकेल्न एमाले नेतृत्वको गठबन्धन उद्धत रहेको आरोप लगाउनुभयो । देशलाई नयाँ आर्थिक विकासको युगतर्फ लैजान गठबन्धनको विजयी आवश्यक रहेको उहाँको भनाइ छ ।

भेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले गठबन्धन आजको आवश्यकता भएको बताउनुभयो । गठबन्धनविना कुनै पार्टीको बहुमत आउन नसक्ने भएकोले पार्टीहरू मिल्नुपरेको उहाँको भनाइ थियो । उहाँले गठबन्धन भित्र शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगर्न आग्रह समेत गर्नुभयो ।