१५ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनमा गतिरोधको संकेत

gathnbandhan

नेपाली कांग्रेस र माओवादी केन्द्र दुबै दलले आगामी सरकारको नेतृत्वमा दाबी गरेपछि गठबन्धनमा गतिरोधको संकेत देखिएको छ । सत्तामा पुनः दोहोरिने कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको चाहना र सुरुमै प्रधानमन्त्री बन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको महत्वकांक्षाका कारण गठबन्धनमा गतिरोध बढ्ने देखिएको हो । 

उमेर स्वस्थ्य र क्रियाशिलताको दृष्टिकोणले पनि देउवा छैटौं कार्यकालका लागि प्रधानमन्त्रीमा दोहोरिन चाहनुभएको कांग्रेस नेताहरुको तर्क छ । राष्ट्रपति पदमा सम्झौता गरेर भएपनि देउवाले पहिलो चरणमै सरकारको नेतृत्व गर्न चाहनुभएको कांग्रेस नेताहरुले बताएका छन् । 

जनमतका दृष्टिकोणले पनि कांग्रेसले आगामी सरकारको नेतृत्व गर्नुपर्ने सो पार्टीका प्रवक्ता डा प्रकाश शरण महतले बताउनुभयो । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत विषयमा गठवन्धनमा ठोस छलफल सुरु भईनसकेको भन्दै माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाविक भएको प्रवक्ता महतको भनाई छ । 

कांग्रेसलाई दबाबमा राख्न माओवादी केन्द्रले एमालेसँगको संवादलाई पनि जारी राखेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले जनमतका अधारमा तेस्रो दल भएपनि परिवर्तनको एजेण्डालाई संस्थागत गर्न एक पटक आफ्नो पार्टीले नेतृत्व गर्न पाउनुपर्ने बताउनुभयो । 

गठबन्धन दललाई सामान्य बहुमत पनि पुर्‍याउन कठिन भईरहेका बेला सरकारको नेतृत्वमा भएको हानथापले राजनीतिक गतिरोध केही दिन लम्बिने संकेत देखिएको छ । 

सामान्य बहुमतका लागि आवश्यक १ सय ३८ मध्ये गठबन्धन दलसँग अहिले १ सय ३६ सिट छ । एमाले भने पर्ख र हेरको अवस्थामा छ । गठबन्धन दल फुट्ने अवस्थामा मात्रै आगामी सरकारका विषयमा छलफल सुरु हुने एमाले उपमहासचिव विष्णु रिमालले बताउनुभयो ।