१६ बैशाख २०८१, आईतवार

कस्तो आउला चुनावी परिणाम ?

deuba oli prachand nd nepal

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएसँगै अब कसको कहाँ कोसँग प्रतिष्पर्धा हुँदैछ भन्ने चासो बढेको छ। सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच आआफ्नै गठबन्धन भएकोले पनि मंसिर ४ को चुनावमा दुई ध्रुवको समिकरण रोचक हुने देखिन्छ ।

अझ कतिपय क्षेत्रमा चर्चित पात्र, पूर्वसहकर्मी र वर्षौ सत्ताको स्वाद लिएका पाका नेतासँग युवा तथा पढेलेखेका पुस्ताबीच प्रतिष्पर्धा हुँदैछ ।

काठमाडौं-१ मा पछिल्ला तीन निर्वाचनमा नेपाली कांग्रसका नेता प्रकाशमान सिंहले चुनाव जित्दै आएका छन । अहिले पनि सत्ता गठबन्धनका सिंह नै उम्मेदवार छन् । उनले एमालेका युवा नेता किरण पौडेल, राप्रपाबाट रविन्द्र मिश्र, प्रहरीका पूर्वडिआइजी रमेश खरेल लगायतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

काठमाडौं- पाँचमा एमालेका वरिष्ठनेता ईश्वर पोखरेलसँग नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रतिस्पर्धामा छन् । २०७४ सालमा काठमाडौं महानगर प्रमुखमा उम्मेदवार बनेर चर्चामा आएकी रन्जु दर्शना पनि स्वतन्त्र उम्मेदवार हुन् । यो क्षेत्रमा पनि धेरैको चासो देखिन्छ ।

काठमाडौं-४ साविक विजेता कांग्रेस महामन्त्री गगन थापा र एमाले नेता राजन भट्टराई छन् । काठमाडौं-७ बाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको छोरी मानुषी यमी भट्टराई सत्तागठबन्धनबाट र अहिलेका मन्त्री तथा एमालेको समर्थनमा उठेका जसपाका राजेन्द्र श्रेष्ठबीचको चुनाव पनि रोचक छ । यही क्षेत्रबाट एमालेका पूर्वसांसद रामवीर मानन्धर स्वतन्त्र उम्मेदवार छन्

गण्डकी प्रदेशको लमजुङमा एमालेका उमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र माओवादीका महासचिव देव गुरुङ बीच प्रतिस्पर्धा हुँदैछ ।

गुल्मी- २ मा एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री उम्मेदवार छन् । यी दुई पूर्वसहकर्मी हुन् । रुपन्देही- १ मा पनि एमालेका दुई पूर्वसहकर्मीकै बीच प्रतिस्प्रर्धा छ ।

घनश्याम भुसालले पार्टी छाडेर सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिँदा एमालेले जसपा र राप्रपासँग मिलेर सचिव छविलाल विश्वकर्मालाई उठाएको छ ।

लुम्बिनीकै दाङ-मा एमालेका महासचिव शंकर पोखरेलविरुद्द सत्ता गठबन्धनबाट माओवादी नेतृ रेखा शर्माको उम्मेदवारीलाई पनि चासोपूर्वक हेरिएको छ ।

नवलपरासी पश्चिम- १ मा नेपाली कांग्रेसबाट उद्योगी विनोद चौधरी र जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठी मध्ये कसले जित्ला भन्ने अड्कलबाजी रोचक हुँदैछ।

यस्तै अन्तिम समयमा सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले उमेदवारी दिएको सप्तरी-२ मा सत्ता गठबन्धनबाट लोसपाको जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउतको त्रिपक्षीय प्रतिस्पर्धा छ ।

सर्लाही-२ मा गठबन्धन भित्रकै दुई उमेदवार छन् । लोसपाका राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादवले उमेदवारी दिएका छन् ।

झापा- ३ मा नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन चुनावी मैदानमा छन् । धनुषा- ३ मा लोसपाका अनिल झा र एमालेकी जुली महतो तथा भोजपुरमा एमालेका शेरधन राई र गठबन्धनका सुदन किँरातीबीचको प्रतिस्पर्धा पनि उत्तिकै रोचक हुने देखिन्छ ।

सत्ता र विपक्षीका आआफ्नै गठबन्धन भएकोले धेरै क्षेत्रको चुनावी परिणाम अनुमान गरेभन्दा फरक हुने सम्भावना पनि उत्तिकै छ ।