१६ बैशाख २०८१, आईतवार

पुरानै क्षेत्र रोजेका अधिकांश शीर्ष नेतालाई नयाँको चुनौती

election

पार्टी नेतृत्व तथा प्रधानमन्त्री बनेर मुलुकको बागडोर सम्हालेका मुख्य दलका शीर्ष नेताहरु अधिकांशले आफ्नो पुरानै क्षेत्र रोजेका छन् ।

कतिपयले भने सजिलै जितिने ठाउँ खोजेर निर्वाचन क्षेत्र परिवर्तन गरे। उनीहरुले चुनावमा भने युवा तथा नयाँ अनुहारसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।
संसदीय चुनावमा सातौं पटक उम्मेदवार बनेका देउवाले आफ्नै पूर्व सहयोगी तथा नेपाली कांग्रेस बीपीका नेता कर्णबहादुर मल्लसँग प्रतिश्पर्धा गर्दैछन्। देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा मल्ल स्वकीय सचिव थिए । एमालेले पनि मल्ललाई नै सघाएको छ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट उम्मेदवारी दिएका छन् । उनको कांग्रेसका खगेन्द्र अधिकारी र स्वतन्त्रबाट युग पाठकसँग प्रतिश्पर्धा हुँदैछ । ओलीको झापामा यो प्रतिष्पर्धा सातौं पटक हो।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको संसदीय निर्वाचनको यात्रा यो चौथो पटक हो । प्रत्येक चुनावमा क्षेत्र परिवर्तन गर्दै आएका अध्यक्ष दाहाल यसपाली गोरखाबाट चुनाव लड्दैछन् । यसअघि उनले चितवनबाट निर्वाचन जितेका थिए ।

गोरखामा दाहालका प्रतिश्पर्धी एमालेका अब्दुस मियाँ छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने दाहाललाई गृह जिल्लामा भित्र्याए । तर आफु उम्मेदवार बनेनन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत यो पटक क्षेत्र परिवर्तन गरेका छन् । उनी काठमाडौं- २ छोडेर रौतहट-१ बाट प्रतिश्पर्धामा उत्रेका छन् । नेपालको प्रतिपश्पर्धा यो पटक आफ्नै पुरानो पार्टी एमालेका अजयकुमार गुप्ता रहेका छन् ।

एकीकृत समाजवादीकै अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल गृह जिल्ला इलाम-१ बाट चुनाव लड्दैछन् । खनालका प्रतिष्पर्धी उनको पुरानो पार्टी एमालेका नेता महेश बस्नेत हुन् ।

यस्तै काठमाडौं-५ बाट एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उनको प्रतिष्पर्धामा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल तथा स्वतन्त्रका उम्मेदवार रञ्जु दर्शना चुनावी मैदानमा आमनेसामने हुनेछन् ।

झापा- ३ मा कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच प्रतिष्पर्धा हुँदैछ । कांग्रेस महामन्त्री गगन थापाको भेट काठमाडौँ ४ मा एमालेका राजन भट्टराईसँग हुँदैछ ।

कांग्रेसकै अर्का महामन्त्री विश्व प्रकाश शर्मासँग झापा १ मा एमालेका अग्नि खरेल मैदानमा उत्रेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको तनहुँ १ मा एमालेका एकबहादुर रानासँग प्रतिष्पर्धी हुँदैछ ।

उपसभापति पूर्णबहादुर खड्काको जम्काभेट सुर्खेत १ मा एमालेका धुव्रकुमार शाहीसँग हुनेछ भने स्याङ्जा २ मा धनराज गुरुङसँग एमालेका पदमा अर्यालको भेट हुनेछ ।

एमाले महासचिव शंकर पोखरलेको प्रतिष्पर्धा दाङ २ मा माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग हुने भएको छ ।

माओवादी केन्द्रका महासचिव देब गुरुङ लमजुङमा उम्मेदवार छन् । उनका मुख्य प्रतिष्पर्धी एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग हुनेछ ।