१३ बैशाख २०८१, बिहीबार

मन डराउने, निद्रा नलाग्ने, निरासा महसुस हुन्छ ?

depressed women

नेपाली समाजमा अझै पनि मानसिक रोग लुकाउने चलन छ । यो रोगलाई अरु शारिरीक समस्या जस्तो गरी सामान्य रुपमा लिने गरेको पाइँदैन । तर समयमै उपचार पाएमा मानसिक रोग पनि अन्य जस्तै निको पार्न सकिन्छ ।

ललितपुरको मानसिक अस्पतालमा दैनिक २ सय जनासम्म मानसिक स्वास्थ्य समस्या लिएर उपचार गराउन आउँछन् । त्यसमध्ये करिब ८० प्रतिशत बिरामीमा त कडा खालको समस्या देखिइसकेको हुने अस्पतालले जनाएको छ ।

यसैगरी काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा दैनिक १ सयको हाराहारीमा बिरामी आउने गरेकोमा २० प्रतिशतमा कडा समस्या देखिने गरेको छ ।

उपचारका लागि आउने धेरैमा मन डराउने, निद्रा नलाग्ने, निरासा महसुस हुनेदेखि कडा खाले समस्या देखिने गरेको चिकित्सक बताउँछन् ।

नेपालमा केही वर्ष यता मानसिक स्वास्थ्य समस्या बढ्दै गएको चिकित्सको अनुमान छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ देखि २०२० सम्म गरेको अध्ययनमा नेपालमा १० प्रतिशतमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या देखिएको पाइएको छ ।

यता नेपालमा मानसिक स्वास्थ्य नीति बनेको तीन दशक हुन लाग्दा पनि पूर्णरुपमा कार्यान्वयन भएको छैन । त्यही कारण सबै बिरामी उपचारको पहुँचमा आउन सकेका छैनन् ।

समयमै उपचार पाए निको हुने मानसिक रोग नियन्त्रण गर्न सरकारी नीति कार्यान्वयनसँगै नागरिकलाई सुसूचित बनाउँदै उपचारको दायरासमेत विस्तार गर्नुपर्छ ।