१२ बैशाख २०८१, बुधबार

भौतिक संरचनामा डोजर लगाएर बालेनले अराजक गतिविधिलाई बढाएः कांग्रेस नेता विश्वकर्मा

Min Biswakarma
फाइल फोटो

सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन्।

कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचना हटाउँदा अराजकता ल्याएको भन्दै आपत्ति समेत जनाए।

गृहमन्त्रीलाई अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरुले अराजक गतिविधि गर्न नहुने बताए। यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाइ थियो।

‘हामी आज बजारमा के–के देख्दै छौ त ? भत्काउँदै हिँड्नु भएको छ नि होइन, मेयर साुव१ हाम्रो सिस्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अब भोलिदेखि सबै मेयरहरुले भत्काउँदै हिँड्ने हो भने त। गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ।

स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ। तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँड्नु भयो भने के हुन्छ ? उनले प्रश्न गरे ।