१२ बैशाख २०८१, बुधबार

यसकारण माओवादी केन्द्रसँग चुनावी तालमेल

baburam bhattarai
फाइल फोटो

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचानको अधिकार सहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको बताउनुभएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण खुलाउनुभएको हो ।

उहाँले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्रपनि त्यसैको पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको बताउनुभयो ।

अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्बिरोध रहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष भट्टराईले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको स्पष्ट पार्नुभयो ।

उहाँले चुनावपछि मात्रै छलफल हुने भन्दै माधव नेपालसहितको वृहत्त समाजवादी केन्द्र निर्माणमा सहमति जुटेमा एकता हुनसक्ने बताउनुभयो ।