२९ बैशाख २०८१, शनिबार

आक्रोशीत सुनिएका प्रदीप खड्का भन्छन् : ‘नेपाली फिल्मलाई शो बाटै होच्याउने काम बन्द गरौँ’

Pradeep Prakash

अभिनेता प्रदीप खड्का ‘प्रकाश’ मा अभिनय गर्ने समय देखि नै चर्चामा छन् । उनले रेगुलर गर्दै आइरहेको फिल्म भन्दा फरक गरे । अघिल्ला फिल्म जस्तो यसमा रोमान्स , नाँच गान छैन ।

फिल्ममा उनी सामान्य जुम्लेली युवक ‘प्रकाश’ को भूमिकामा छन् । फिल्मलाई प्रिमियरमा हेर्नेले तारिफ गरे । प्रदीपको एटेमप्टलाई सबैले स्वागत गरे । यद्दपि त्यो हलमा देखिएन । अघिल्ला फिल्मको तुलनामा उनले मल्टिप्लेक्समा न्यून शो पाए ।

मल्टिप्लेक्सले शो खुल्ला गरेसँगै असन्तुष्ट देखिएका प्रदीपले शुक्रबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै गुनासो पोखे । ‘नेपाली फिल्मलाई हामी विदेशमा लाने तयारी छौँ । तर , हाम्रै देशमा चलाउन गाह्रो छ ।

हामीले यहाँ पनि राम्रोसँग फिल्म चलाउन नपाउने हो भने कहाँ चलाउने ?’ प्रदीपले प्रश्न समेत गरे । उनले नेपाली मौलिक कथामा फिल्म बनेन भनेर गुनासो पनि गर्ने तर फिल्म बन्दा हौसला नमिल्ने बताए ।

‘हामीले आफ्नै कथा लिएर आउँदा खै त ? सपोर्ट पाएको ? एउटा निर्माताले ढुक्कसँग मौलिक कथामा लगानी गरेका छन् । उनलाई खै ? हौसला दिएको ?’ प्रदीप कड्किए । उनले फिल्म हलहरुको कर्पोरेट रेस्पोन्सिबिलिटी नरहेको गुनासो गरे ।

‘हामीले आफ्नै कथा भन्ने चेस्टा गर्दा भोग्नु परेको पिडा हो यी सब । के अब हामी छिमेकी मुलुक भारतकै फर्मुला शैलीको फिल्म लिएर आउनु पर्ने हो ?’ प्रदीप भन्छन् ,’नेपाली फिल्मलाई पहिले शो मार्फत नै होच्याउने काम हुन्छ । नेपालमा त इज्जतका साथ प्रदर्शन हुन् दिनूस ।’

नेपालमा भारतीय फिल्म ‘लाइगर’ एक दिन अगावै प्रदर्शन हुनु , नेपाली फिल्मलाई कुल शो संख्याको ३० प्रतिशत पनि नदिनु लगायतको गुनासो उनले गरेका थिए ।

मल्टिप्लेक्सहरुमा लाइगरले ६५ प्रतिशत शो पाउँदा प्रकाश , राधा सहित पुराना बाँकी फिल्मलाई ३५ प्रतिशतको हाराहारीमा शो दिइएको थियो । यसप्रति प्रदीप आक्रोशीत सुनिएका हुन् ।