१३ बैशाख २०८१, बिहीबार

प्राण नभएको शरीर झैँ, सुरमा नरहेको ‘प्रेम गीत ३’

Prem Geet 3 1

यो वर्षकै प्रतीक्षित फिल्म मध्येको एक ‘प्रेम गीत ३’ प्रदर्शनरत छ । यही नामको सिरिज मार्फत निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्का स्थापित हुनु भएको हो । गीतसंगीत र लभ स्टोरी शृंखलाको पहिचान हो । बलियो पक्ष गीतसंगीत रहँदै आएको छ ।

‘प्रेम गीत ३’ नाम उही भएपनि अघिल्ला दुई शृंखलासँग कुनै सम्बन्ध छैन । यो नयाँ कथामा बनेको फिल्म हो । तेस्रो सिरिजसम्म आइपुग्दा निर्माता सेनले फिल्मलाई नेपालीसँगै हिन्दी भाषामा स्वरांकन गरेर भारतसँगै अन्य देशहरुमा समेत प्रदर्शन गर्न सक्षम हुनुभएको छ ।

विश्वभर एकसाथ प्रदर्शन हुनु गौरवको विषय हो । छिमेकी मुलुकमा यसले राम्रो गर्न सके नेपाली फिल्मको ठुलो बजार विस्तार हुन्छ ।

यो पिरियड ड्रामा हो । परापूर्व कालको हिमाली राज्य खजाकमा एक राजा (शिव श्रेष्ठ) हुनुहुन्छ । उहाँको अमन (मनिष राउत) र प्रेम (प्रदीप खड्का) गरी दुई सन्तान छन् । खजाकका राजाले सात गाउँमाथि शासन गरिरहनु भएकोछ ।

अमन धर्तिमा आइसकेपछि र प्रेम आउने क्रममा रहनु हुँदा नै राजालाई माता (लक्ष्मी बर्देवा) कहाँ पुगेर भविष्य जान्ने मन हुन्छ । ती माताले प्रचलित मान्यता विपरित राज योग कान्छा छोरामा रहेको बताउनुहुन्छ । यद्दपि प्रेमले नाम झैँ राजयोगमा ‘प्रेम’ नै अड्चन बोकेर आउने माताको जोखाना हुन्छ ।

प्रेम दाई अमनभन्दा होसियार र गुणी हुनका साथै दयालु पनि हुनहुन्छ । राज्यको उतराधिकारी को बन्ने ? कौतुहलताकै बीच दुवैलाई शिक्षा , शास्त्र , युद्ध लगायतको विषयमा ज्ञान दिइन्छ । आफू भन्दा हरेक कुरामा प्रेम होसियार भइरहेको अमनलाई मन पर्दैन । आफ्नो कान्छो भाइ राजा बन्ने चर्चा हुन् थालेपछि अमनमा असन्तुष्टि बढ्दै जान्छ । नकावधारीहरुले गाउँ र खजाकमा आक्रमण गरिरहँदा प्रेम त्यसलाई बुझ्न गाउँ पस्नुहुन्छ । दरगाको कान्छो छोरा प्रेमलाई गाउँलेले नचिन्ने भएपछि राजाले अनुमति दिनुहुन्छ । जहाँ प्रेमको भेट गीत ( क्रिस्टिना गुरुङ)सँग हुन्छ । त्यसो त प्रेमले बाल्यकालमा नै गीतलाई भेटिसकेको प्रसंग छ । गीतको आमाले दिनुभएको बाला राजालाई बाध्य भएर बुझाइएको दृश्य हेरिरहनु भएको प्रेमले त्यही बाला गीतलाई फर्काउनु हुन्छ ।

आफ्नो आमाको अमुल्य चिनो फिर्ता पाएपछि सुरुमा प्रेमप्रति सशंकित गीतको मन बदलिन्छ । केही नाटकीय घटनापछि गीत पनि प्रेमलाई मन पराउन थाल्नुहुन्छ । दरगालाई वर्षेनी आफ्नो उब्जनीको केही प्रतिशत बुझाउनु पर्दा गाउँलेहरु राजा प्रति सकारात्मक सामान्य जीवन बाँचिरह्दा विस्तारै प्रेमलाई स्वीकार्न थाल्नु हुन्छ । तर यहाँ माताले भविष्यवाणी गरे झैँ प्रेमको प्रेम दरगाका लागि अड्चन बन्नुहुन्छ । प्रेमलाई दरगाको उतराधिकारी देखिरहनु भएको राजाले गाउँले केटी गीतसँग प्रेम बसेको थाहा पाएपछि प्रेमलाई नजरबन्दमा समेत राख्नु हुन्छ ।

यही समयमा प्रेमको सामु धर्मसंकट आइपर्छ , प्रेमले दरगा रोज्ने कि गीत ? राजाले दरगाको उतराधिकारी कसलाई बनाउनु होला ? अमनले आफू भन्दा बढी माया पाइरहेको प्रेमसँग मनमनै उब्जाएको प्रतिशोधलाई कसरी व्यक्त गर्नु होला ? प्रेम र गीतको मिलन होला त ? यी सब प्रश्नको जवाफ भने फिल्म हेर्दा नै पाइन्छ । फिल्मको कथासार पढिरहँदा यो कुन कालखण्डको कथा भन्ने प्रस्टिँदैन । त्यसैले फिल्मको कथामा छिर्न समस्या छ । समय र कथाको परिवेश बुझिने गरी प्रस्तुत नहुँदा पात्रमा पनि अपनत्व भावना जागृत हुँदैन ।

फिल्मको कथा भन्दा पटकथा झनै फितलो छ । फिल्म हेरिरहँदा कथासारले आफ्नोपन दिन सकेको छैन । राजाको राज्य , गाउँसँगको सम्बन्ध प्रस्टिएको छैन । अमन र प्रेम बीचको आगामी राजा बन्ने विषयलाई लिएर हुनुपर्ने द्वन्द्वलाई दर्शकसम्म पुर्याउन निर्देशकद्वय सन्तोष सेन र छेतेन गुरुङ चुक्नु भएको छ । भेषभुषामा मेहनत देखिएता पनि चरित्रलाई दर्शकसँग जोड्न फिल्म सक्षम छैन । राजा र गाउँलेले बोल्ने भाषा र संवादमा कुनै मेहनत देखिदैन ।

नेपाली लगानी र बजारले साँघुरिएको खजाकले दर्शकलाई सन्तुष्ट पार्न सक्दैनन् । प्रेम र गीतले बोल्ने संवाद दमदार त छैन नै उहाँहरुको अभिनय पनि स्वाभविक देखिँदैन । यही फिल्मबाट रजतपटमा प्रवेश गर्नुभएकी कृष्टिनाले अभिनयसँगै संवादमा धेरै काम गर्नुपर्ने महसुस हुन्छ । उहाँसँगै अन्य पात्रहरुले पनि बलजफ्ती अभिनय गरिरहेको आभाष फिल्म हेरिरहँदा हुन्छ । राजाको भूमिकामा देखिनु भएका शिव श्रेष्ठ र बाँकी कलाकारको पनि अभिनय धाप मार्ने खालको छैन ।

बलियो पक्ष गीतसंगीत हो । अघिल्लो सिरिज झैँ यसको शीर्षगीतले दर्शक र श्रोताको मन जित्न सफल भएको छ । प्रस्तुतिको कमजोरीका बावजुद पनि राजेश श्रेष्ठको छायांकन फिल्मको सबल पक्ष हो । हिमाली दृश्य जति प्राकृतिक हिसाबले खिचेका छन् त्यसमाथि गरिएको भीएफएक्स भने उत्तिकै अप्राकृतिक छ । यद्दपि मनाङको सुन्दर दृश्यले आँखालाई शितलता दिन्छ ।

समग्रमा भन्दा फिल्मको गीतसंगीत र दृश्यलाई मात्र अंक दिन सकिन्छ । फिल्मको कथा पनि चाखिलो नै हो । नेपाली पर्दामा विरलै यस्ता कथा प्रस्तुत भएका छन् जुन सह्रानीय पक्ष हो । तर, कथामा मेहनत नपुग्दा फिल्म प्राण नभएको शरीर झैँ देखिएको छ । लोकेसनमा झैं स्क्रिप्ट र कलाकारले चरित्रमा मेहनत गरेको भए, ‘प्रेमगीत ३’ अर्को एउटा सम्झन लायक प्रेमकथा बन्थ्यो । त्यसो हुन नसक्दा यो लय गुमाएको गीतमा सीमित भएको छ ।