११ बैशाख २०८१, मंगलवार

तर्कवितर्कको पक्ष-विपक्षमा बाँडिदिएको ‘प्रेम गीत ३’

prem geet 3

शुक्रबारदेखि प्रेम गीत ३ विश्वभर प्रदर्शनमा आएको छ । नेपाली चलचित्र क्षेत्रलाई नै पक्षविपक्षमा बाँडिदिएको प्रेम गीत अहिले पनि हटकेक नै छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र प्रेम गीत ३ ले दर्शकको प्रतिक्रिया राम्रो पाएको छ । नेपालमा मात्रै होइन, विदेशमा पनि चलचित्रको चर्चा राम्रै छ । तर यहाँसम्म आइपुग्न प्रेम गीत ३ ले निक्कै पापड बेल्नु पर्‍यो । २०७६ चैत २७ गते प्रदर्शन हुने घोषणा गरेको फिल्म प्रेम गीत ३ शुक्रबारदेखि विश्वभरीनै प्रदर्शन भयो ।

तीन वर्षदेखि प्रदर्शनमा नआएको फिल्म प्रेम गीत ३ प्रदर्शन हुनुअघि देखिनै विवादित भयो । चलचित्र विकास बोर्डले ११ बजेपछि फिल्म हल खुला राख्न अनुमति लिनुपर्ने र प्रेम गीत ३ को हिन्दी डबले विदेशी फिल्म सरह कर तिर्नुपर्ने निर्णय गरेपछि विवाद सुरु भयो । फिल्म निर्माण पक्षले फिल्मको हिन्दी डबलाई विदेशी फिल्म सरह व्यवहार गर्ने बोर्डको निर्णयमा आपत्ति जनायो ।

चलचित्रको अभिनेता र निर्देशकले बोर्डको निर्णयमा आपत्ति जनाउनु स्वाभाविक नै हो । कुरा यत्तिमा मात्रै रोकिएन, नेपाली कलाकर्मीलाई नै दुई भागमा बिभाजित गरिदियो ।

प्रेम गीत ३ को हिन्दी डब राष्ट्रवाद र राष्ट्रघातको विषय बन्यो । प्रेम गीत ३ ले नेपाली र हिन्दी संस्करण एकै चोटी प्रर्दशन गर्ने तयारी गरेको थियो । तर केही प्राविधिक काम बाँकी रहेको भन्दै हिन्दी संस्करणको नेपालमा प्रदर्शन केही समय पर धकलिएको छ । निर्माण पक्ष भने प्रेम गीत ३ माथि राजनीति भएको आरोप लगाउँछ ।

चत्रचित्र विकास बोर्डले प्रेम गीत ३ को हिन्दी संस्करणलाई नेपाली फिल्म सरह मान्यता दिन नसकिने बताएपछि विवाद थप चुलियो । अनि प्रेम गीत ३ को हिन्दी संस्करण विदेशी चलचित्र सरहको प्रक्रियामा गयो । तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको सिफारिस विपरित प्रेमगीत ३ को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गर्यो । अनि नेपाली सरह नै प्रदर्शनमा आउने भयो । प्रेम गीत ३ को भाषालाई लिएर विवाद गर्नु उपयुक्त नहुने समीक्षकको बुझाइ छ ।

चलचित्र निर्माण पक्ष चलचित्र विकास बोर्डले आफूलाई सहयोग नगरेको आरोप लगाइरहेको छ । कतिपय समीक्षकले नेपाली सिनेमाको इतिहासमा एउटा नयाँ अध्यायका रुपमा पनि लिएका छन् । विभिन्न तर्कवितर्कको चेपुवामा परेको प्रेम गीत ३ ले दर्शक साथ कस्तो पाउँछ केही दिनमै छिनोफानो हुनेछ ।