Close Me
२९ माघ २०८१, मंगलवार

घोषणामै सीमित भएको आँचलको ‘राजमहल’

Rajmahal

नेपाली फिल्मका लागि पाँचतारे होटलले ‘अनलक्की’को छाप बनाएको छ। महंगा र आलिशान यस्ता होटलमा घोषणा गरिएका धेरैजसो फिल्म निर्माणकै चरणमा अड्किएका छन्। पाँचतारे होटलमा तामझामसहित घोषणा भएका ‘घुइँचो’, ‘दीपेन्द्र सरकार’, ‘रानी महल’, ‘सिड्नी’ जस्ता फिल्म बनिनसक्नुको सूची लामो छ।

यसरी असफलताको अर्को उदाहरण हो गत वर्ष दरबारमार्गस्थित होटल याक एन्ड यतिमा घोषणा गरिएको फिल्म ‘राजमहल’। आँचल शर्मा, रमेश उप्रेती, सरोज खनाल, सलोन बस्नेतलगायत कलाकार अनुबन्धित यस फिल्मको छायांकन अष्ट्रेलिया, न्यूजिल्याण्ड र नेपालमा हुने भनिएको थियो। तर, घोषणा भएको एक वर्ष बितिसक्दा पनि फिल्म निर्माणको कुनै संकेत देखिएको छैन। स्रोतका अनुसार यो फिल्म अब बन्ने सम्भावना न्यून छ।

निर्देशक सविनकुमार तोलाङ्गीको निर्देशनमा बन्ने भनिएको यो फिल्मको घोषणादेखि कलाकार सम्झौतासम्म करिब ५० लाख रुपैयाँ खर्च भइसकेको छ। तर, फिल्म नै निर्माण हुन नसक्दा त्यो रकम व्यर्थ भएको छ।

पाँचतारे होटलमा घोषणा हुने फिल्म निर्माण हुन नसक्नुको मुख्य कारण उत्पादन प्रक्रियामा आएको आर्थिक संकट हो। महंगा लोकेसन, तामझाम र ठूला बजेटका कारण यस्ता फिल्म प्रायः अधुरै रहन्छन्। फलस्वरूप निर्माताहरु सामाजिक सञ्जालमार्फत फिल्म घोषणा गर्न रुचि राख्न थालेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालबाट घोषणा भएका फिल्महरुले राम्रो व्यापार गरिरहेको देखिन्छ। यसले पाँचतारे होटललाई नेपाली फिल्म क्षेत्रका लागि ‘अनलक्की’ सावित गरेको छ।

यस प्रवृत्तिले अब नेपाली फिल्म निर्माताहरुलाई फिल्म घोषणा गर्ने ठाउँ चयनमा थप सतर्क बन्न बाध्य बनाएको छ।