७ बैशाख २०८१, शुक्रबार

हैसियतभन्दा बढी सिटमा दाबी गरेपछि सत्ता गठबन्धनलाई सिट बाँड्नै सकस !

gathabandhan
फाइल फोटो

सत्ता गठबन्धनलाई मंसिरमा हुने निर्वाचनको सिट बाँड्नै सकस परेको छ । भागवण्डाको अन्तिम खाका प्रस्ताव गर्ने जिम्मेवारी पाएको कार्यदलले प्रारुपसमेत टुंग्याउन सकेको छैन ।

कार्यदल सहमतिको शुत्रभन्दा संख्यात्मक अडानमै केन्द्रित हुन थालेकाले पछिल्लो समय शीर्ष तह पनि छलफलमा केन्द्रित हुन थालेको छ ।

समानुपातिकतर्फको बन्दसूची पेस गर्न तीन साता बाँकी रहँदा गठबन्धनमा सिट बाँडफाँटको दबाब छ । तर, उसले सिटभन्दा अघि टुंग्याउनु पर्ने दलसंख्या पनि निरक्र्यौल गर्न सकेको छैन ।

लोकतान्त्रिक समाजवादी पार्टीसहित बाबुराम भट्टराइ र बामदेव गौतमको दल गठबन्धनमा औपचारिक स्वागतको प्रतीक्षामा छन् ।
गठनको दुई सातापछि बिहीबार मात्रै दलहरुले कार्यदलमा सिटको औपचारिक दाबी राखेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र छन् । तर, गठबन्धनका दलको दाबी २ सय ३४ सिटका लागि छ।

कसको कति दाबी ?
– २०७४ मा प्रत्यक्षमा २३ सिट जितेको कांग्रेस – १०० सिट
– २०७४ मा प्रत्यक्षमा ३६ सिट जितेको माओवादी केन्द्र – ६० सिट
– २०७४ मा प्रत्यक्षमा १० सिट जितेको जनता समाजवादी – ३२ सिट
– २०७४ मा प्रत्यक्षमा १ सिट जितेको राष्ट्रिय जनमोर्चा – २ सिट
– एक वर्षअघि एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादी – ४० सिट

२०७४ मा वाम गठबन्धनको कारण खुम्चिएको कांग्रेसले यसपटक ७७, माओवादी केन्द्रले २४, जनता समाजवादीले २१ र राष्ट्रिय जनमोर्चाले १ क्षेत्र बढि खाजेका छन् ।

सत्तारुढ दलहरुको साथ हुँदा–हुँदै स्थानीय तह निर्वाचनमा कमजोर प्रदर्शन गरेको एकीकृत समाजवादीले पहिलो पटक नै ४० सिट मागेको छ । दलहरुले बढिभन्दा बढि सिट दाबी गर्नु स्वभाविक भएपनि छलफलमा क्रमशः घट्ने र ठूलो समस्या नहुने नेताहरुको बुझाइ छ ।

अहिले सत्ताघटकले दाबा गरेको सिट प्रत्यक्षतर्फको भन्दा ६८ बढि हो । गठबन्धन जोगाउनै पर्ने र ठूलो दल भएका कारण नेपाली कांग्रेस केही तल झर्नेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस झरेर आउने संख्या बराबर नै बाँकी दलको सिट होस् भनेर दबाब बढाइरहनु भएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाले कांग्रेससँग ५० प्रतिशत सिट खोस्न सके भावी राजनीतिक यात्रा केही सहज हुने दाहालको आंकलन छ । कांग्रेस अहिलेको अडान कायम राख्दै अन्तिममा ५० प्रतिशतमै चित्त बुझाउने मनस्थिति नजिक पुगिसकेको छ ।

१६५ को ५० प्रतिशत लिँदा कांग्रेसको ८३ सिट हुन्छ । बाँकी ८२ बाँकी दललाई बाँड्नु पर्ने छ । यसो गर्दा माओवादी केन्द्र ४८, एकीकृत समाजवादी १८, जनता समाजवादी १५ हाराहारी सिटमा खुम्चिनेछन् ।

राष्ट्रिय जनमोर्चाको १ सिट सुरक्षित हुनेछ । माओवादी केन्द्रले आफ्नो संख्याबाटै बाबुराम भट्टराई र बामदेव गौतमलाई दिने बताइन्छ । लोकतान्त्रिक समाजवादी गठबन्धनमा थपिए सबै दलको केही सिट घट्ने छ ।