१४ बैशाख २०८१, शुक्रबार

अख्तियारबाटै अख्तियारको दुरुपयोग भयो,आफ्नालाई बोकेर विरोधीलाई ठोक्ने सरकारको नीति : मीनबहादुर विश्वकर्मा

minbahadur

प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध गरेको छ ।

काँग्रेसले आफ्ना नेता तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै विरोध जनाएको हो । सत्तारुढ दलका आरोपित नेतालाई चोख्याउने र विपक्षी नेताविरुद्ध मुद्दा दायर गरिएको काँग्रेसको आरोप छ ।

बैठकको सुरुमा कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि ललिता निवास जग्गा प्रकरणमा दायर गरिएको मुद्दामा पूर्वाग्रह प्रतिविम्वित भएको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैँले अख्तियारको दुरुपयोग गरेको उनले दावीसमेत गरे ।

उनले भने, ‘उक्त जग्गा प्रकरणमा जुन प्रधानमन्त्रीले त्यो निर्णय गर्नुभयो, उहाँले त्यसलाई उपलब्धिका रुपमा लिनु भएको छ, जुन मुख्यसचिवले त्यो गुरुयोजनाको प्रस्ताव गर्नुभयो, उहाँले यसलाई गौरवमय आयोजना भन्नु भएको छ । जसले योजना सुरु गर्नुभयो, जुन योजनाअनुसार मन्त्रिपरिषदबाट निर्णय भयो, प्रस्ताव पेश गर्ने व्यक्तिले उन्मुक्ति पाउने, उहाँ अत्यन्तै महान व्यक्ति, जसले मन्त्रिपरिषदको अध्यक्षता गरेर निर्णय गर्नुभयो, उहाँ पनि महान व्यक्ति, जो निर्णयबाट लाभान्वित हुनु भयो र लालपुर्जा बोकेर हिँड्दै हुनुहुन्छ, उहाँ पनि महान व्यक्ति ?’

उनले काँग्रेस नेता गच्छदारले त्यतिबेला भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेको स्मरण गराउँदै प्रश्न गरे, ‘लालपुर्जा बनाउने, कित्ताकाट गर्ने कुरा, जग्गाधनी किटान गर्ने कुरा, मोही खडा गर्ने कुरा भौतिक पूर्वाधार मन्त्रालयमा पर्छ ?’

बालुवाटार परिसर साँघुरो भएकाले त्यसलाई विस्तार गर्ने गुरुयोजना त्यतिबेला बनाइएको र प्रधानमन्त्रीलाई मन परेकै कारण भौतिक योजना तथा पूर्वाधार मन्त्रालयसँग बाटोको आकार कत्रो बनाउने, कति क्षेत्र विस्तार गर्ने भनेर योजना मागिएको उनको दावी थियो ।

‘त्यो योजना लगेर प्रस्ताव गर्ने मन्त्रीलाई मुख्य दोषी करार गरेर करोडौँको विगो दावी गर्ने, उहाँलाई सजायको माग गर्ने तर जसले निर्णय गर्नुभयो, उहाँ निर्दोष ठहरिने ? जुन निर्णयबाट अहिले पनि लालपूर्जा बोकेर बैंकबाट ४९ लाख ऋण त्यही लालपूर्जाबाट आइरहेको छ, उहाँ पनि निर्दोष ठहरिने ?’

अख्तियारको स्वायत्ततामा पनि प्रश्न उठेको जिकिर उनले गरे । अख्तियारले ललिता निवास जग्गा प्रकरणमा दायर गरेको मुद्दालाई सरकारकै प्रवक्ताले सरकारको उपलब्धिका रुपमा व्याख्या गरेको उनको आरोप थियो ।

सांसद विश्वकर्माले भने, ‘हिजोसम्म हामीलाई शंकामात्र थियो, सरकारका प्रवक्ताले नै अख्तियारले मुद्दा दायर गर्नु सरकारको उपलब्धि हो भन्नु भएको छ, सरकारको नियोजित कार्यक्रमभित्र काँग्रेसका मान्छे थुन्ने, काँग्रेसका मान्छेलाई दोष लगाउने जुन प्रपञ्च रचियो, त्यसमा राजनीतिक प्रतिशोधन छ कि छैन भनेर हामी भन्न सक्छौँ ।’

उनले बैठकमा आफ्ना धारणा राखेपछि कांग्रेस सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु गर्नका लागि काँग्रेस सांसदहरुलाई आफ्नो आसनमा बस्न बारम्बार आग्रह गरे पनि काँग्रेस सांसदहरु उठिरहे ।

बिहीबार पनि काँग्रेस सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए ।