१४ बैशाख २०८१, शुक्रबार

कल सेन्टरको नाममा नेपाल, अन्तरदेशीय साइबर अपराधको केन्द्र बन्दै

call

नेपालको साइबर सुरक्षालाई लिएर पटक–पटक प्रश्न उठ्दै आएको छ । कमजोर साइबर सुरक्षाको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय गिरोहले नेपालका वित्तीय संयन्त्र पटकपटक निशानासमेत बनाएका थिए । तर अब त नेपालमै सुरक्षित ढंगले कम्पनी स्थापना गरेर तेस्रो देशमा धन्दा चलाउने गरेको खुलासा भएको छ ।

सूचना प्रविधि कम्पनीको नाममा खुलेका कल सेन्टरमार्फत् तेस्रो देशका नागरिकबाट रकम असुल गर्न चिनियाँ र भारतीय गिरोहले नै सयौं नेपालीको प्रयोग भएको खुलेको हो ।

काठमाडौंको तीनकुनेस्थित बाहिरबाट ढोका वन्द गरिएको यो घरका दुई तलामा ११ सय कम्युटर राखिएको छ । त्यसो भए एउटै घरबाट ११ सय जनशक्तिमार्फत् के काम हुन्छ त ? सुन्दा अचम्म लाग्न सक्छ ।

Capture 8

नेपाली नागरिक विजय श्रेष्ठको नाममा दर्ता भएको स्काइ वर्ल्ड सर्भिस सेन्टरको कार्यालय छ । तर यो कल सेन्टर हो, जसले सुविधा होइन विदेशबाट रकम असुल गर्छ । एक चिनियाँ र दुई भारतीय यसका मुख्य लगानीकर्ता हुन ।

भारतमा फाष्ट लोन, कोको, इजि लोन जस्ता बैंकबाट जस्तै लोन लिन सकिने मोबाइल एप्स छन् । ती एप्सबाट लोन लिन दैनिक हजारौंले आवेदन दिन्छन् ।

आर्थिक अवस्था कमजोर भएकालाई लक्षित यो एप्समा रासन कार्ड अथवा भोटर परिचयपत्र राखेर आवेदन दिनेले २० देखि ३० हजार सम्म लोन लिन सक्छन । त्यसबापत सुरुमै ३६ प्रतिशत कमिसन कटाएर कम्पनीले एक साताका लागि लोन पनि दिन्छ ।

जब लोन फिर्ता हुँदैन, त्यसपछि धम्क्याउन फोन गर्ने ठाउँ नेपाललाई बनाइएको हो । प्रहरीका अनुसार यो समुहले भारतमा ५० हजारभन्दा बढीलाई लोन दिएको छ । त्यो रकम उठाउन धम्की दिने थलोको रुपमा नेपाललाई प्रयोग गरेको हो । यसमा प्रयोग भएका अधिकांश कर्मचारी नेपाली हुन् ।

काठमाडौंमा मात्र होइन यस्ता सञ्जाल बाहिर पनि भेटिएका छन्। रुपन्देहीमा १ सय ५० जना परिचालन गरेर सञ्चालन गरिएको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । त्यहाँ पनि भारतीय र चिनियाँ नागरिकै लगानी भएको खुलेको छ ।

कल सेन्टरले यतिसम्म जोखिम निम्त्याएको छ कि गत असारमा साइबर ब्युरोले धुम्बाराहीबाट पक्राउ गरेको समूहले ८६ जना अमेरिकी र १३ जना क्यानेडियनसहित ७ सय जनाको बैंक खाताबाट रकम चोरी गरेको खुलेको छ ।

काठमाडौंमा घरै भाडामा लिएर साइबर धन्दा चलाउने १ सय २२ चिनियाँलाइ सरकारले तीन वर्ष अघी पक्राउ गरेर देश निकाला गरेको थियो । त्यसैले पनि नेपाल विगतदेखि नै साइबर सुरक्षाका निकै जोखिममा रहेको देखाउँछ ।

अझ अहिले त काठमाडौं बाहिरसमेत सञ्जाल विस्तार भइसकेको पुष्टी भएकाले सुरक्षा संयन्त्रलाई थप सशक्त नबनाउने हो भने अवस्था नियन्त्रण बाहिर जान सक्छ ।