१४ बैशाख २०८१, शुक्रबार

खेलकुद लगानीमा कहाँ चुक्यो सरकार ?

sport 1

पुरस्कारले खेलाडीको मेहनतको मात्रै कदर गर्दैन, भोलिका दिनमा थप हौसला दिन्छ । खेलाडीलाई आर्थिक रुपमा सवल बनाएर सफलताका लागि प्रेरित गर्न पनि पुरस्कार महत्वपूर्ण मानिन्छ ।

सरकारले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधी संशोधन गरेर अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीको पुरस्कार रकममा वृद्धि गरेको छ । तर, ठूला प्रतियोगितामा पदक जित्ने वातावरण भने बनाउन सकेको छैन ।

ओलम्पिक र एसियाली खेलकुदमा पदक ल्याउने गरी सरकारले लगानी गरेको छैन । तेक्वान्दोका संगिना वैद्य र दिपक बिष्टबाहेक अहिलेसम्म नेपाल ओलम्पिकमा वाइल्ड कार्डकै भरमा छ ।

एसियाडमा पनि प्रदर्शन खस्कादो छ । दक्षिण एसियाली खेलकुदमा नेपालले भारतलाई उछिन्न सकेको छैन । जबकी सागमा भारतले पहिलो रोजाइका खेलाडी नै पठाउन छाडिसक्यो । खेलाडीलाई हौसला दिन भन्दै पुरस्कारको राशी बनाएको सरकारले स्तरवृद्धि, पूर्वाधार र अन्तर्राष्ट्रिय एक्स्पोजरमा भने ध्यानै दिएको छैन ।

ओलम्पिक, एसियाड, सागलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई दिइने पुरस्कार रकममा भने सरकारले वृद्धि गरेको छ । ओलम्पिकमा स्वर्ण जित्नेले एक करोड रुपैयाा पाउनेमा अब १ करोड ३० बनाइएको छ । रजतलाई ७५ लाखको सट्टा ९७ लाख र कास्यतर्फ ५० लाखको सट्टा ६५ लाख दिइने भएको छ ।

पुरस्कार वृद्धि एसियाडदेखि दक्षिण एसियाली खेलकुद सागसम्मका लागि भएकाले यसले खेलाडीमा सकारात्मक प्रभाव भने पर्ने देखिन्छ । तर महत्वपूर्ण प्रश्न यो छ कि- खेलाडीलाई ओलम्पिक तथा एसियाडमा पदक जित्ने गरी सरकारले लगानी गरेको छ त ?

त्यसो त सरकारले पुरस्कारको राशी बढाए पनि यो अन्य देशको तुलनामा कम नै हो । त्यति गर्दा पनि पुरस्कारको राशी बढ्नुलाई सकारात्मक मान्नै पर्छ । तर परम्परागत ढंगबाट चलेको खेलकुदमा लगानी गर्न सरकार किन चुकिरहेको छ ? प्रश्न यहिँ छ ।