१७ बैशाख २०८१, सोमबार

चर्चामा एम अधिकारीको संसददेखि सामाजिक सञ्जालसम्म, गभर्नर महाप्रसाद अधिकारी नै हुन् त ?

maha prasahd

नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य खोटाङका एम अधिकारी अहिले चर्चामा छन् । ती व्यक्तिको खोजी संसददेखि सामाजिक सञ्जालसम्म शुरू भएको छ । एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एमालेको अर्थ विभागका सदस्य भएको दाबी बलियो छ ।

एम अधिकारी नाम गरेका व्यक्ति महाप्रसाद अधिकारी नै भएको दाबी भइरहँदा एमालेले इन्कार गरेको छ । तर, एम अधिकारी भन्ने व्यक्तिको पहिचान गराउन एमालेले सकेको छैन ।

खोटाङ घर भएका राष्ट्र बैंकका गभर्नर अधिकारी नै एम अधिकारी भएको एमालेकै खोटाङका नेताहरूले अनौपचारिक बताउने गरेका छन ।

प्रचलित नियम र कानूनले नेपाल राष्ट्र बैंकका गभर्नर मात्र होइन राष्ट्र बैंकका अन्य अधिकारीहरु पनि कुनै दलको सदस्य रहन पाउँदैनन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोड नाम राखेर योजना तथा अर्थ विभागको सदस्य बनाएपछि चौतर्फी आलोचना भइरहेको छ ।

नेकपा एमालेको आधिकारिक वेबसाइटमा अर्थ तथा योजना विभागको प्रमुख धनश्याम भुसाल र सचिवमा योगेन्द्रबहादुर शाही छन् । यही विभागका नौ सदस्यमध्ये दोस्रो नम्बरमा एम अधिकारी उल्लेख छ । उहाँको ठेगाना खोटाङ राखिएको छ ।

बेवसाइटमा एम अधिकारी भनेर कोड गरिएका व्यक्ति वर्तमान गभर्नर महाप्रसाद अधिकारी नै भएको पुष्टि गर्ने केही तथ्यहरुमार्फत हामीले प्रस्तुत गरेका छौ ।

१. एम अधिकारी कोड गरिएका व्यक्तिको ठेगाना खोटाङ उल्लेख गरिएको छ । गभर्नर महाप्रसाद अधिकारी पनि खोटाङको खोटेहाङ गाउँपालिकाका स्थानीय बासिन्दा हुनुहुन्छ।

२. यसअघि अर्थ तथा योजना विभागका प्रमुख सुरेन्द्र पाण्डे रहेका बेला उहाँ त्यो विभागको सदस्य हुनुहुन्थ्यो ।

३. महाप्रसाद अधिकारीका अनन्य मित्र अर्थ–राजनीतिक विश्लेषक हरि रोकाले ट्विट गर्दै जिल्लाबासी राष्ट्र बैंकका गभर्नर एम अधिकारी देशको ठूलो पार्टी एमालेको विभाग सदस्य भएको भन्दै बधाई दिनुभयो ।

४. खोटाङकै एमालेका एक नेताले वर्तमान गभर्नर महाप्रसाद अधिकारी (एम अधिकारी) बाहेक पार्टीमा अन्य कुनै नेता नरहेको प्रष्ट पार्नुभएको छ ।

५. नियुक्तिको विषयलाई लिएर चौतर्फी आलोचना शुरु भएको २४ घण्टा बितिसक्दा पनि एमालेले एम अधिकारी भनिएका व्यक्ति महाप्रसाद अधिकारी होइनन् भने अर्को को हुन खुलाउन सकेको छैन ।

यी तथ्य अनुसार विभाग सदस्य बनेका एम अधिकारी गभर्नर नै भएको दाबी अर्थ पत्रकार दिनेश अधिकारीको छ ।

सांसदहरुले पनि संसदमा ऐन, नियम विपरीत नियुक्त हुने र गर्ने व्यक्तिमाथि कारबाही गर्नुपर्ने माग गरेका छन् । देशको अर्थतन्त्र सम्हाल्ने व्यक्ति पार्टीको सदस्य रहेको विषयलाई गम्भीर ढंगले छानबिन गर्नुपर्ने माग छ ।

एमालेका नेताहरुले भने सत्तापक्षको सांसदहरुले अर्थमन्त्रीको अनैतिक काम लुकाउनका लागि गभर्नरमाथि प्रश्न उठाएको आरोप लगाएका छन् ।

एमाले सांसद कृष्णभक्त पोखरेलले गभर्नर अधिकार आफैँले यो विषयमा स्पष्टीकरण दिएपछि संसदमा प्रश्न उठाउनुको औचित्य नभएको बताउनु भयो ।

गभर्नर महाप्रसाद अधिकारीले पनि आफू नभएको दाबी गरिरहनुभएको छ । तर यसअघि पनि सदस्य रहेको, अहिले पनि कोड नाम राखेपनि ठेगाना उही रहेको र जिल्लाका पार्टी नेताहरुले समेत स्वीकार गरिसकेकाले एम अधिकारी महाप्रसाद नै भएको प्रष्ट हुन्छ ।

एमालेकै दाबी मान्ने हो भने पनि एम अधिकारी भन्ने अर्को व्यक्ति देखाउन नसक्नु पनि महाप्रसाद नै भएको बलियो आधार मान्न सकिन्छ ।