१६ चैत्र २०८०, शुक्रबार

चयन प्रक्रिया शुरु हुँदै उपसभामुखको, गठबन्धनका तर्फबाट पुष्प भुसालले उम्मेदवारी दिने

puspa bhusal

प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया आजदेखि शुरु हुँदैछ ।

प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । यस्तै उम्मेदवारको नामावली प्रकाशन पनि आजै हुने छ ।

कार्यतालिका अनुसार भोलि शुक्रबार अपराह्न ३ बजेको बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । उपसभामुख पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो ।

तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो । प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने तयारी गर्नुभएको छ ।

यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा उहाँ तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बन्नुभएको थियो । तुम्वाहाङ्फे २०१ मत पाउँदा भुसालले भने ५८ मत मात्र प्राप्त गर्नुभएको थियो । तर यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ ।

प्रतिनिधिसभामा एमालेको ९८, काँग्रेस ६१ (दुई निलम्बित), माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।