२४ बैशाख २०८१, सोमबार

लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिहरुसँग हातेमालो गर्न चाहन्छाैं: नेपाल

madhav
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिहरु सबैसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताउनुभएकाे छ।

पाँच दलीय गठबन्धन समयको आवश्यकता र माग भएकाे भन्दै अहिले पनि गठबन्धनको औचित्य र आवश्यकता रहेको सबै शक्तिसँग हातेमालाे गरेर लाेकतन्त्रकाे रक्षा गर्न सकिने बताउनुभएकाे हाे ।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीबाट जनताले धेरै आशा र अपेक्षा गरेका छन् भन्नुभयाे ।

अध्यक्ष नेपालले भन्नुभयो– “हाम्रा मन्त्रीहरुले राम्रो गर्नुपर्छ, जनताको बीचमा रहेर उनीहरुको सेवा गर्नुपर्छ । हाम्रा मन्त्रीहरुको शीर झुक्नु हुँदैन ।” समाजवादीबाट मन्त्री भएका नेतालाई लक्षित गर्दै अध्यक्ष नेपालले जनताको हित, जनताको दुःखसुखमा जनताकै साथमा रहेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

आगामी मंसिर महिनाभित्रै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने उहाँकाे भनाइ थियाे । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिरभन्दा पर नजाने भएकाले आफ्नो पार्टीले निर्वाचन केन्द्रित गतिविधि सुरु गरेको उहाँले बताउनुभयो ।