१२ बैशाख २०८१, बुधबार

सत्तापक्षकै विरोधले अघि बढेन सुदूरपश्चिम प्रदेशको बजेट

sudur pradsh shabha

सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याएको तीन साता बित्दा पनि प्रदेशसभामा छलफल नै शुरु हुन सकेको छैन । सत्तापक्षका सांसद नै बजेटको विरोधमा उत्रिएपछि बजेटमाथिको छलफलका लागि बोलाइएका ३ वटा बैठक स्थगित भएका छन् भने अझै बैठक बोलाउने तयारी नै छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्तापक्षकै केही नेता र प्रतिपक्षको असन्तुष्टिबीच विवाद बढ्दा बैठक अनिश्चित बनेको छ। सांसदहरु रुष्ट बनेपछि बजेटमाथिको छलफल शुरु हुन नसकेको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षका लागि असार १ गते प्रदेशसभामा ३६ अर्ब बढीको बजेट प्रस्तुत गर्नुभएको थियो ।

तर, बजेट प्रस्तुत भएको दुई साता बढी बितिसक्दा पनि छलफलको टुंगो लागेको छैन। सरकारले मनपरी ढंगले बजेटमा योजना समावेश गरेको भन्दै सांसद विरोधमा उत्रिएका हुन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी सत्तारुढ नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले नै बजेट संशोधन गर्नुपर्ने माग राख्नुभएको छ । सरकारले समस्या सम्बोधन नगरेसम्म प्रदेशसभाको बैठक सञ्चालन गर्न नसकिने उहाँको अडान छ ।

प्रदेश सरकारको अन्तिम कार्यकालको बजेट बढाएर आएपनि आवश्यकताका आधारमा नआएको सांसदहरुको टिप्पणी छ । पार्टी कार्यालय खोल्नेदेखि अस्पतालको रकम काटी मन्दिर निर्माणसम्ममा प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । जसको विरोध सतापक्षकै सांसदहरुले गरिरहेका छन् ।