६ जेष्ठ २०८१, आईतवार

काठमाडौँमा लकडाउन खुकुलो नगर्न सिफारिस, कम प्रभावित हिमाली तथा पहाडी जिल्लामा भने खुकुलो गरिने

Meeting 1

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको  सोमबार बसेको बैठकले काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो नपार्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ।

देशका सबै जिल्लाहरुलाई जोखिमपूर्ण, कम जोखिमपूर्ण र न्यून जोखिमपूर्ण गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सीमा जोडिएका तथा कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरुलाई जोखिमपूर्ण भागमा राख्ने निर्णय भएअनुसार काठमाडौँमा लकडाउन खुकुलो नपारिने निर्णय भएको हो।

बैठकले सरकारलाई लकडाउन थप गर्ने र नयाँ मोटालिटीको बारेमा सिफारिस गर्नेछ।त्यस्तै, आइतवार गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा, गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथी प्रभुराम शर्मा लगायत उपस्थिति रहेको बैठकमा सुरक्षा निकायका प्रमुखहरुको बैठकले लकडाउन बढाउनुपर्ने सुझाव दिएका थिए।

उनीहरुले देशका अन्य क्षेत्रमा लकडाउनल केही खुकुलो गरे पनि भारतसँग सीमा जोडिएका जिल्लामा तत्काल लकडाउन खुकुलो गर्न नहुने सुझाव दिएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए। सुरक्षा निकाय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको समेत सुझाव सुनेपछि गृहमन्त्री थापाले वैशाख २५ पछि पनि लकडाउन थपिने संकेत गरेका छन्।

भारतसँग सीमा जोडिएका र तराईका जिल्लाहरुमा पनि  लकडाउन पूर्वरुप रुपमै कायम राख्न पनि समितिले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। पहाडी तथा हिमाली जिल्लाहरुमा भने लकडाउन खुकुलो पारिने र आन्तरिक आवागमन सुचारु गर्न पनि समितिले प्रस्ताव गरेको छ। मंगलबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

बैठकमा सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए।