२४ बैशाख २०८१, सोमबार

कर्णाली प्रदेशलाई १ हप्ताका लागि पूर्ण सिल गरिने

karnali banda

कर्णाली प्रदेशको प्रदेश विपद् व्यवस्थापन परिषदले १ हप्ताका लागि सम्पूर्ण प्रदेश सिल गर्ने निर्णय गरेको छ । कर्णालीसँग जोडिएका प्रदेश ५ मा कोरोनाभाइरस संक्रमण देखिएपछि सोमबार कर्णाली प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

छिमेकी प्रदेशहरु प्रदेश नम्बर ५ र सुदूरपश्चिममा कोरोना संक्रमितहरु देखिएपछि परिषदले १ हप्ताका लागि सम्पूर्ण प्रदेश नै सिल गर्ने निर्णय गरेको हो ।

सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले १ हप्ताका लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो ।

अब कर्णाली प्रवेश गर्ने सबै नाकामा आवतजावत पूर्ण रुपमा बन्द गरिनेछ । बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी सात दिनसम्म प्रदेश भित्रिने सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

प्रदेश विपद् व्यवस्थापन परिषदको बैठकले प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने निर्णय पनि गरेको छ ।

गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिने सामाजिक विकासमन्त्री दल रावलले बताए ।

उनका अनुसार स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नका लागि स्वाब संकलन, द्रुत परीक्षण (आरडीटी) समेत गर्नेछ ।

उनका अनुसार सल्यानको कपुरकोट, सुर्खेतको बबई, कुइन लगायतका नाकामा आवतजावत पूर्ण रुपमा बन्द गरिनेछ भने खाद्यान्न बोकेका सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

एकैदिन १५ सहित प्रदेश नम्बर ५ को बाँके (नेपालगञ्ज)मा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपालगञ्जमा कोरोना संक्रमितहरु भेटिएपछि बाँके र बर्दियामा बस्दै आएका कर्णाली घर भएका नागरिकहरु घर फर्किने तयारीमा थिए ।

केही स्थानीय तहले नेपालगञ्ज, बर्दिया लगायत क्षेत्रमा रहेका नागरिकहरुलाई बस रिजर्भ गरेर उद्दार गर्न थालेपछि प्रदेश सरकारले सम्पूर्ण नाका बन्द गर्ने गरी सम्पूर्ण प्रदेश सिल गर्ने निर्णय गरेको हो ।