२५ बैशाख २०८१, मंगलवार

सालीसँगको अबैध सम्बन्धका कारण श्रीमतीको हत्या

women dead body

धनुषामा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । मिथिला नगरपालिका वडा नम्बर ९ स्थित लालभिट्टीका २८ वर्षीय हरि चौहानले श्रीमतीको हत्या गरेका हुन् । आरोपित चौहानले २५ वर्षीया पत्नी विणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीले आफ्नी बहिनीसँग अबैध सम्बन्ध राखोको आरोप लगाउँदै मानसिक यातना दिएपछि आवेशमा आएर उनले बिणाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ ।

चौहानले विणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर शलले घाँटी बेरेर हत्या गरि शवलाई जंगलमै गाडेको अवस्थामा प्रहरीले ४ दिनपछि उत्खनन् गरेर निकालेको थियो । बैशाख १८ गते बिहीबार साँझ करिब साढे ५ बजेको समयमा विणालाई बलो काट्न जंगल जाउँ भन्दै त्यहाँ लगेर घाँटीमा शल बेरेर उसको हत्या गरी शवलाई जंगलमै गाडेको कुरा चौहानले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

shab dhanusha 1 576x768 1

बिणाको हत्या गर्नुपूर्व चौहानले खाल्टो खनेर तयार पारेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या गर्नुअघि खाडल खनेर तयार बनाएको इलाका प्रहरी कार्यालय ढल्केवरका ईन्चार्ज प्रहरी निरीक्षक तिर्थ कार्कीले बताए । उनले भने, ‘विणालाई जंगलमा लगेर हत्या गरि खाडलमा गाडिएछ । घटना योजनाबद्ध तरिकाले भएको देखिन्छ ।’ गाडी चालक रहेका चौहानले बैशाख १९ गते बिहान पत्नी हराएको भन्दै प्रहरी समक्ष मौखिक जानकारी गराएका थिए ।

विगत ५ वर्षअघि विणासँग अन्तरजातिय विवाह गरेका उनलाई घरमा बुवाआमाले बस्न नदिएपछि ससुरालीको घरछेउमा घर बनाएर बस्दै आएका थिए । ‘चौहानको करिव एक वर्षदेखि कान्छी साली गंगा लामासँग एकतर्फी प्रेम रहेकोले पत्नीको मानसिक यातना सहन नसकेर उसले विणाको हत्या गरेको देखिएको छ’,घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक कार्कीले भने । उनले भने, ‘अन्त्यमा श्रीमानले योजनाबद्ध तरिकाले श्रीमतीको हत्या गरि आफ्नो साथी गोपाल श्रेष्ठलाई फोन गरि घटनाको सम्बन्धमा जानकारी दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

खाडलमा पुरिएको शवलाई प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले आईतबार साँझ उत्खनन् गरेको छ । सडेको अवस्थामा भेटिएको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रहरी निरीक्षक कार्कीले बताए । हत्या अभियोगमा हरि चौहानलाई पक्राउ गरि म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीहरुका ४ वर्षकी एक छोरी र साढे दुई वर्षका एक छोरा छन् ।

    सम्बन्धित समाचार...