१५ बैशाख २०८१, शनिबार

अध्यक्ष दाहालकाे आक्रोश : ‘रेणु दाहाल र सिर्जना सिंहलाई छाेरी र श्रीमतीकाे रूपमा अवमूल्यन गर्न खाेजियाे’

prachanda IRyjsLNp44
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का एवम् पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले मेयरका उम्मेदवारद्वय रेणु दाहाल र सृजना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ ।

अध्यक्ष दाहालले दाहाललाई आफ्नी छोरीको रुपमा र सिंहलाई प्रकाशमान सिंहको श्रीमतीको रुपमा प्रचार गरेर केही मानिसहरुले उनीहरुको अवमूल्यन गर्ने काम गरिरहेको बताउनुभएको हो ।

सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले छोरी रेणुप्रति संकेत गर्दै जहाँजहाँ महिलाहरुले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भएको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले महिला उम्मेदवारहरुमाथि बिश्वास गर्ने र उनीहरुको योग्यतालाई सम्मान गरेर अघि बढनु मुलुककै आवश्यक्ता भएको जिकीर समेत गर्नुभयो । उहाँले पुरुषहरुले राज गरेर धेरै लछारपाटो नलगाएको उल्लेख गर्दै अब महिलाहरुलाई त्यो अवसर दिनुपर्ने निष्कर्षमा आफू पुगेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हिजो युद्धको बेलामा, शान्ति र संविधान निर्माणको बेलामा महिलाहरुलाई हुन त यी मेयरका दुईटा प्रत्याशीका बारेमा एकथरी मान्छेहरुले नकारात्मक टिप्पणी नगरेका होईनन् । कसैलाई छोरीको रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाहरुलाई कहिँ न कहीँ अपमानित गर्ने, महिला भित्रको क्षमतालाई अवमूल्यन गर्ने एक थरी मानिसका कोसिस् छन । म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्न चाहन्छु । त्यो नकारात्मक प्रवृत्ति हो ।’

अध्यक्ष दाहालले संविधान कार्यान्वयनको दृष्टिकोणले पनि, परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र नेपाली जनतामा परिवर्तनको अनुभूति गराउन पनि महिलाहरुलाई विशेष रुपले अघि बढाउनुपर्ने तर्क गर्नुभयो ।