१२ बैशाख २०८१, बुधबार

वर्षौंसम्म आवश्यक छ गठबन्धन: प्रधानमन्त्री देउवा

PM deuba
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौंसम्म आवश्यक रहेको बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनको तर्फबाट आज यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “संविधानको हालको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन गाह्रो छ । तसर्थ पनि मुलुकका लागि गठबन्धन आवश्यक छ । युरोपका कतिपय देशमा पनि यस खालको संस्कृति छ ।”

उहाँले सबै मिलेर सत्तागठबन्धनलाई सफल बनाउनु पर्नेमा जोड दिनुभयो । विगतमा आफू एक्लै निर्वाचनमा जाने रहर गर्दा पराजित भएको तथ्य पेश गर्दै सभापति देउवाले वाम गठबन्धन गरेर एमालेसँग एकता गर्दा माओवादीले दुःख पाएको सुनाउनुभयो ।

कांग्रेसको केही समयअघि सम्पन्न १४औँ महाधिवेशनले पाँच दलीय गठबन्धनको आवश्यकता महसुस गरी सर्वसम्मतिले यससम्बन्धी प्रस्तावलाई पारित गरेको र केन्द्रीय समितिले पनि यसलाई अधिकार दिएको जानकारी दिनुभयो । “अहिले केही परस्पर विरोधी भावना भएकाले बखेडा झिकेका छन् । विगतमा विपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने यसको खिलाफमा छन्”, सभापति देउवाले भन्नुभयो ।

मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ र अर्को महानगर भरतपुर प्रमुखमा महिला उम्मेदवारलाई टिकट दिएर गठबन्धनले राम्रो काम गरेको बताउँदै उहाँले मतदातासमक्ष विजयी गराउन आह्वान गर्नुभयो ।

काठमाडौँ महानगरको प्रमुखको उम्मेदवार सिर्जना सिंहका सन्दर्भमा उहाँले कसैको घरमा विवाह गरेर बुहारी बन्नु उहाँको दोष नभएको र त्यसैका आधारमा अवसरबाट वञ्चित गर्न नहुने उल्लेख गर्नुभयो ।

त्यसैगरी भरतपुर महानगरका प्रमुखका उम्मेदवार रेणु दाहालले राम्रो काम गरेको प्रशंसा गर्दै उहाँले कहाँ जन्म हुने भन्ने कुरा कसैको हातमा नहुने हुँदा त्यस आधारमा आरोपित गर्न नहुने स्पष्ट पार्नुभयो ।

काठमाडौँ महानगरको समग्र व्यवस्थापनका सन्दर्भमा उम्मेदवार सिंहका तर्फबाट प्रस्तुत गरिएको प्रतिबद्धताको प्रसंशा गर्दै प्रधानमन्त्री देउवाले छ महिनाभित्र यहाँको फोहोर व्यवस्थापन गरी सुन्दर नगरी बनाउने र त्यसबाट ऊर्जा उत्पादन गरेर चुल्हो बाल्न र सवारी साधनसमेत चलाउन सकिने बताउनुभयो । सो कार्यका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले केपी शर्मा ओली प्रधानमन्त्री रहँदा जनमानसमा डर, त्रास र आतङ्क रहेको स्मरण गर्दै नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)लगायतका दलको सहयोगमा आफू प्रधानमन्त्री भएपछि जनतामा त्रास हटेर खुसी भएको समेत जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “सत्ता गठबन्धन जिन्दावाद । सबै मिलेर सफल पार्नुपर्छ ।”