४ जेष्ठ २०८१, शुक्रबार

सञ्चार माध्यमले देशलाई अस्थिरतातर्फ धकेले : प्रधानमन्त्री ओली

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन्।

सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन भन्दै धम्कीपूर्ण भाषासमेत प्रयोग गरेका छन् ।

‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ,’ मे दिवसको अवसरमा जारी शसभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ । अर्कातिर यही अफ्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरु गरिनु दुःख कुरा हो ।’

कोरोना भाइरसको महामारीविरुद्ध अग्रपङ्क्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइलगायतका सेवामा क्रियाशील श्रमजीवीहरु यसका उदाहरण भएको उल्लेख गर्दै उहाँले ‘काम, मनोरञ्जन र आराम’ बीच सन्तुलन कायम गर्न माग स्थापित श्रमिक दिवसमा श्रमिकको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनका लागि भएका सबै आन्दोलनको स्मरण गरिँदै आएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले भने, “श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रमबिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ ।”

कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेको उल्लेख गर्दै उनले यसबाट सिर्जना भएको पीडाप्रति आफू जानकार तथा संवेदनशील रहेको बताएका छन् ।

पछिल्लो समयमा देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सरकारले स-साना स्वार्थका लागि राजनीतिक पार्टी फुटाउने अध्यादेश ल्याएपछि मुलुकमा राजनीतिक अस्थिरता सुरु भएको हो । कोरोना महामारीका बेला त्यस्तो बेमौसमी अध्यादेश सञ्चारमाध्यम वा सामाजिक सञ्जालले ल्याएको नभई प्रधानमन्त्री आफैंले ल्याएका हुन्, जसलाई सरकारले तत्कालै फिर्ता लियो ।

अध्यादेश फिर्ता लिइसकेपछि पनि कोरोना महामारीविरुद्ध केन्द्रित हुनुपर्नेमा सरकार र सत्तारुढ नेकपाका नेताहरु अहिले पनि देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने खेलमा लागिरहेका छन् ।जनतालाई लकडाउनलाई पालना गरेर बसिरहेका बेला सांसद सुरेन्द्र यादवलाई बेमौसममा रातारात काठमाडौं ओसार-पसार गर्ने काम प्रधानमन्त्रीकै निर्देशनमा नेकपा सांसहरुबाटै भएको हो ।

जनताले बहुमत दिएर सरकारमा पठाएका प्रधानमन्त्री स्वयं चुनाव हारेका व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पार्टीमा ल्याउँदैछन् । आम नेपाली जनता लकडाउन र आर्थिक संकटले इन्तु न चिन्तु बनेका बेला नेकपा सरकार आन्तरिक किचलोमा लागेर तामासा देखाउँदै बसिरहेको छ ।

तर, श्रमिक दिवसको बिहानीमा प्रधानमन्त्रीले दिएको सन्देशमा चाहिँ सञ्चारमाध्यम र सामाजिक सञ्जालले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको लाञ्छना लगाउँदैछन् । अझ त्यो भन्दा अगाडि बढेर ‘सरकार र नेकपा कार्यकर्तालाई सैह्य नहुने’ धम्कीपूर्ण भाषा देशको कार्यकारी प्रमुखबाट प्रयोग भएको छ ।

प्रधानमन्त्रीबाटै यस्तो धम्कीको भाषा प्रयोग हुनु आश्चर्यजनक मात्र छैन, सञ्चारमाध्यम र अभिव्यक्तिको स्वतन्त्रतामाथि नै यसले प्रश्नचिन्ह खडा गरिदिएको छ ।

आखिर, ‘सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला’ नेपालमा राजनीतिक अस्थिरता कसले निम्त्याउँदैछ रु सरकार र सत्तारुढ नेकपाका नेताहरुले कि सञ्चार माध्यमले रु प्रधानमन्त्रीको सम्वोधनपछि यो बहसको विषय बन्न पुगेको छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २२ लाख श्रम दिन बराबरको रोजगारी सिर्जना आदि उपलब्धिको चर्चा सन्देशमा गरेका छन् । कोरोना महामारीविरुद्धकोे अग्रमोर्चामा रहेका सबैका लागि रु २५ लाख रकम बराबरको बीमा गरिएको, व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थाका साथै उनीहरुको भत्तामा शतप्रतिशतसम्म थप गरिएको र लकडाउनको अवधिको पारिश्रमिक कायम गर्न र महिला स्वास्थ्य स्वयंसेवीलाई एकमुष्ट एक हजार ५०० थप भत्ताको व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

दैनिक गर्ने कामबाट जीवन धानिरहेकाहरुलाई भोकै पर्न नदिन नेपालमा ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारको नीतिअन्तर्गत स्थानीय तह, प्रदेश तथा केन्द्रीय प्रशासनको संयोजनमा राहतको व्यवस्था गरिएको उल्लेख छ । प्रधानमन्त्री ओलीले भने, “तर घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।”

उनले अबका हाम्रा सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने जनाउँदै भूकम्पपछिको यस दशकलाई हामीले पुनःनिर्माणको दशक भनेझैँ, अबको हाम्रो पहिलो लक्ष्य कोरोनाबाट हाम्रो समाजलाई मुक्त बनाउनु हुने स्पष्ट पारेका छन् ।

नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको तर नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ भन्दै प्रधानमन्त्री ओलीले अप्ठ्यारोमा नहड्बडाउने, अनिकालमा मिलेर बीउ जोगाउने, सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक संवाद गर्ने, अनि विविधताबीच एकता कायम गरी अघि बढ्ने कुराहरु आन्दोलनको सिकाइ भएको उल्लेख गरे ।