१८ बैशाख २०८१, मंगलवार

को हुन् नेपाल आउन लागेका एमसीसीका फातिमा सुमर र जोनाथन ब्रुक्स ?

fatima jonathan mcc nepal

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्ने विषयमा छलफल अघि बढाएपछि नेपालमा यसबारे बहस र चर्चा चुलिएको छ भने नागरिकले यसको चर्को विरोध गर्दै आइरहेको छ ।

प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिइसकेको छ ।

मंगबार एमसिसी उपाध्यक्ष फतिमा सुमार यसबारे सरकारी अधिकारीसँग छलफल गर्न नेपाल आउँदैछन् । सरकारले विज्ञप्ति जारी गरेर नै एमसिसी र भारतको विरोध नगर्न चेतावनी पनि दिइसकेको छ ।

५० करोड अमेरिकी डलरको एमसिसी परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मा सम्झौता भएको थियो । उत्त सम्झौता संसदबाट अनुमोदन हुन नपाइरहेकै बेला उपाध्यक्ष सुमारको नेपाल भ्रमण हुन लागेको हो ।

सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेट्ने जनाइएको छ । सो भेटमा उनले एमसिसी संसद्बाट अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्ने बताइएको छ ।

को हुन् फातिमा र जोनाथन ?
नेपालसँगको एमसीसी सम्झौताबारे एमसीसी मुख्यालयकी उपाध्यक्ष फातिमा सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स मंगलबार नेपाल आउँदैछन् । फातिमा र जोनाथनले प्रधानमन्त्री देउवा र शीर्षस्थ नेताहरूसँग भेट गर्नेछिन् ।

एमसीसी मुख्यालयको वेभसाइटमा उल्लेख गरिए अनुसार फातिमा सुमर अन्तरराष्ट्रिय विकास, वैदेशिक नीति, कूटनीति र वकालतमा पोख्त छन् । सुमार एमसीसीको कम्प्याक्ट अप्रेशनकी उपाध्यक्ष हुन् । उनले नै एमसीसी सम्झौताअन्तर्गत अमेरिकाले प्रवाह गरेको अनुदान सहायता हेर्ने उल्लेख छ ।

सुमारले पूर्वाधार, वातावरण, जलवायु परिवर्तन, निजी क्षेत्र, लैंगिक तथा सामाजिक समावेशीकरण, मानव र समुदाय विकास, भूमि तथा कृषि, खरिद, वित्त व्यवस्थापन, रणनीतिक साझेदारी, सम्झौता र अनुदान व्यवस्थापनमा पनि काम गरिरहेका छन् ।

उनी कम्प्याक्ट अप्रेशन उपाध्यक्ष हुनुअघि युरोप, एसिया–प्रशान्त, दक्षिण अमेरिका हेर्ने एमसीसीकी सहायक उपाध्यक्ष थिइन् । यी क्षेत्रमा एमसीसी कम्प्याक्ट व्यवस्थापन पनि उनले गर्थिन् ।

सुमरले अक्स्फार्म अमेरिकाकी उपाध्यक्ष पनि भइसकेकी छिन् । उनले अमेरिकी सरकारको कार्यपालिका र व्यवस्थापिका गरी दुवै क्षेत्रमा काम गरिसकेकी छिन् ।

अमेरिकी विभागमा दक्षिण तथा मध्य एसिया हेर्ने उप–सहायक निर्देशकको जिम्मेवारी पनि सम्हालिसकेकी सुमरले विभिन्न देशमा आर्थिक र ऊर्जा क्षेत्रमा अमेरिकी संलग्नता बढाएकी थिइन् । अमेरिकी कंग्रेसमा उनी अफगानिस्तान, पाकिस्तान र सीमावर्ती क्षेत्र हेर्ने वरिष्ठ कर्मचारी थिइन् ।

सुमर अमेरिकाको प्रिन्स्टन, कोर्नेल र इन्डियाना विश्वविद्यालयकी सल्लाहकार बोर्डमा पनि छिन् । उनले प्रिन्स्टन विश्वविद्यालयबाटै सार्वजनिक मामिलामा ग्य्राजुुएट गरेकी छन् ।

यस्तै जोनाथन ब्रुक्स एमसीसीका कम्प्याक्ट अप्रेशनका सहायक उपाध्यक्ष हुन् । एमसीसी कार्यक्रमको प्राविधिक र क्षेत्रीय विभाग तथा एजेन्सीहरूको नियमन उनले गर्छन् ।

एमसीसीका मान्यता र साझेदारीमा केन्द्रित रही ब्रुक्सले नतिजा र नीतिगत सुधारमा काम गरिरहेको एमसीसी वेभसाइटमा उल्लेख छ । एमसीसीले विदेशी सरकारहरूसँग उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी पनि ब्रुक्सलाई नै दिएको विवरणमा उल्लेख छ ।

उनले एमसीसी सहायताका परियोजनाको गुणस्तर, खरिद मापदण्ड, वित्तीय व्यवस्थापन, वातावरण, सामाजिक प्रभाव र अनुुगमन तथा मूल्यांकनसमेत गर्छन् । यसअघि नै उनले एल–साल्भाडोर, इन्डोनेशिया, कोशोभो, मंगोलिया, नेपाल र टिमोर लेस्टेमा एमसीसी परियोजना अघि बढाउन काम गरिसकेका छन् ।

ब्रुक्स होन्डुरसमा एमसीसीका देशीय निर्देशक पनि भएका थिए । राजनीतिक अस्थिरताबीच त्यहाँ एमसीसीले जेनतेन केही परियोजनाहरू बनाएको छ । जर्जिटाउन विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका ब्रुक्सले दक्षिण अमेरिकी मुलुकहरूमा पनि काम गरिसकेका छन् ।