२३ बैशाख २०८१, आईतवार

एमाले अध्यक्ष ओलीको गृह नगरमा राप्रपासहितको गठबन्धन

kp oli 3
फाइल फोटो

झापाको दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । त्यही कारण पनि यो नगरको राजनीतिमा धेरैको चासो हुन्छ । स्थानीय तहको निर्वाचनमा पनि यो नगर निकै चासोका साथ हेरिएको नगर हो । यो नगरमा गत ०७४ को स्थानीय तहको मत परिणाम विश्लेषण गर्दा एमाले सशक्त पार्टी हो ।

त्यसपछि दोस्रो स्थानमा छ, राप्रपा । गत ०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले अध्यक्ष ओलीको जितका लागि राप्रपासँगको तालमेल निकै महत्त्वपूण थियो । तर, यसपटकको स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध गठबन्धन नै बनेको छ । जसमा दमकको दोस्रो शक्ति राप्रपा पनि सामेल भएको छ ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहितको गठबन्धनसँग राप्रपाले पनि तालमेलको सहमति भएको हो । जसअनुसार दमकमा राप्रपाले नगरप्रमुख र कांग्रेसले उपप्रमुख पाउने सहमति भएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले बताए ।

राप्रपाले नगरप्रमुखसहित वडा नम्बर १ र ७ को वडाध्यक्ष पाउने सहमति भएको छ । कांग्रेसले उपप्रमुख सहित वडानम्बर ३, ४, ५, र १० नम्बर वडाको वडाध्यक्ष पाउने सहमति भएको हो । माओवादीले वडा नम्बर २, ६, ८ र ९ वडाध्यक्ष पाउने बस्नेतले बताए ।

जसपा र एसलाई भने वडा सदस्यमा समेटिने छ । राप्रपाले गठबन्धनसँग तालमेल गरेपछि एमालेलाई दमकमा निकै मुस्किल भएको छ । ओलीको गृहनगर एमालेको प्रतिष्ठासँग जोडिएको छ । यहाँ एमालेबाट नगरप्रमुखमा गीता अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखले मनोनयन दर्ता गराएका छन् । अधिकारी यसअघिकी नगरकी उपप्रमुख हुन् ।