१३ बैशाख २०८१, बिहीबार

धेरै थोरै असन्तुष्टिको कुरा सुनिनु लोकतन्त्रको सुन्दरता हो, यसले परिणाममा फरक पर्दैन: प्रचण्ड

prachanda 1
फाइल फोटो

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले असन्तुष्टि लोकतन्त्रको सुन्दरता भएको बताएका छन् ।

धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने,“धेरै थोरै असन्तुष्टिको कुरा सुनिनु लोकतन्त्रको सुन्दरता हो । यसले परिणाम फरक पर्दैन । उनीहरु शान्त हुन्छन् । गठबन्धनले लोकतन्त्रको रक्षाका लागि गरेको रहेछ भन्ने बुझ्छन् ।”

उनले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने विश्वाससमेत व्यक्त गरे । प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्नेमा जोड दिए । बाहिर चुनाव हुँदैन, गठबन्धन चुनाव गर्नै चाहँदैन भन्ने हल्ला चलाइए पनि आफूहरु तोकिएकै मितिमा निर्वाचन गराउन प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

प्रचण्डले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताए । यद्यपि, ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले बताए ।

“गठबन्धनभित्र तालमेलमा अधिकतम् जोड गर्ने, जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौँ,” उनले भने,“त्यहीँ मर्म र भावनालाई आत्मसाथ गरेर तालमेल र गठबन्धन गर्ने भनेर भनेका छौँ ।”

प्रचण्डले नेपाली राजनीतिमा दुई ध्रुवीकरण देखा परेको बताए । हिजो प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध आन्दोलन गर्नेको शक्तिको परिवर्तन र अग्रगामी गठबन्धन रहेको बताउँदै उनले अर्को गठबन्धन परिवर्तन उल्ट्याउने कोशिश गर्नेहरुको रहेको बताए ।

फरक प्रसंगमा उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री शर्माबीच गम्भीर ढंगले सल्लाह भएको र सोहीअनुसार मन्त्रिपरिषद्‌बाट निर्णय भएको बताए ।