४ बैशाख २०८१, मंगलवार

जसोतसो शीर्ष नेताहरुले हस्तक्षर गर्दै गर्दा काँग्रेसकै सस्थापनइतर समूह भने गठबन्धनविरुद्ध !

nebisang

प्रधानमन्त्री शेरबहादुर देउवा गबन्धनमा भागवण्डा मिलाउन व्यस्थ बनिरहेका बेला काँग्रेसकै सस्थापनइतर समूह भने गठबन्धन भाड्न उद्दत देखियो ।

बालुवाटारमा महानगर र उपमहानगरको भागवण्डा मिलेकोमा खुसीयाली मनाइरहँदा अर्को खेमा भने गठबन्धनविरुद्ध विषवमनमा उत्रिएको हो ।

जसोतसो सिट बाँटफाँटमा सहमति जुटाएको सत्ता गठबन्धनको लागि काँग्रेसकै संस्थापन इतर समूह हलुवामा बालुवा बनिरहेको छ ।

निर्वाचन आउन २३ दिन मात्र बाँकी रहेको अवस्थामा सार्वजनिक कार्यक्रममार्फत नै काँग्रेसको प्रतिपक्षी भनेर चिनिएका शेखर कोइराला खेमा गठबन्धनकै खेदो खन्न व्यस्थ देखिएको हो ।

बालुवाटारमा सहमतिको खाकामा शीर्ष नेताहरुले हस्तक्षर गर्दै गर्दा शेखर कोइरालाले भने कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको भन्दा कार्यकर्ता भड्काइ रहेका थिए ।

बुधवार नेपाल विद्यार्थी संघको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेस एक्लै लडेपनि गन्तव्यमा पुग्न सक्ने बताए । नेता कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय विपरित गठबन्धनका शिर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको भन्दै आपत्ती जनाए । यस्तै अभिव्यक्ति काँग्रेसका महामन्त्रीसमेत रहेका गगनकुमार थापाले समेत दिए ।

नेपाली काँग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने उनले बताए । उनले नेपालको राजनीतिमा कम्युनिष्टहरुको द्वेध चरित्र बारम्बार देखिएकोले अहिले काँग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताए ।

महामन्त्री थापाले ढिलोचाँडो नेपालका कम्युनिष्टहरू एक हुने भन्दै नेपालका सबै कम्युनिष्टहरू एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने काँग्रेस बनाउने आफ्नो लक्ष्य रहेको दाबी गरे ।

त्यसैगरी माओवादी र एकीकृत समाजवादीलाई चमेरोसँग तुलना गरेर विवादमा आएका उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताए । उनले जनताको मन छुनेगरी घोषणापत्र बनाउन सकेमा नेपाली कांग्रेसलाई ५१ प्रतिशतको कांग्रेस बनाउन सकिने बताए ।

निर्वाचनको मुखमा आएर प्रभावशाली नेताहरुले नै गठबन्धनविरोधी अभिव्यक्ति दिँदा यसले कार्यकर्तामा समेत भ्रम श्रृजना गरेको छ । साथै सत्ताघटक अन्य दललाई झस्क्याएको छ ।

शेखर समूहले जस्तै काँग्रेस कार्यकर्ताहरुले पनि गठबन्धनका अन्य दलविरुद्ध इख साधे भने निर्वाचनमा गठबन्धनको हालत के होला ? यी र यस्ता प्रश्नको घेरामा माओवादी, एकीकृत समाजवादी र जसपाका नेता कार्यकर्ता् नमलिरहेका छन् ।