Close Me
१३ माघ २०८१, आईतवार

प्रचण्डले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर हप्तामा एकपटक खबर पठाउनुहुन्छः गगन थापा

gagan 2.jpg
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर हप्तामा एक पटक खबर पठाउने गरेको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचारीको संरक्षण गर्न कांग्रेस–एमालेसहितको गठबन्धन सरकार बनेको भनी प्रचण्डले लगाउँदै आएको आरोपको खण्डण गर्दै उनले भने, ‘प्रचण्डले अहिले भर्खर भनेर जानुभएछ– यो यो कारणले गर्दा सरकार बदलियो । नेपाली कांग्रेस अहिले पनि संसद्को सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ– लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर ।’

तर, कांग्रेसले देशमा राजनीतिक स्थिरता चाहेकाले ०८४ सम्म एमालेसँगकै गठबन्धनमा रहने उनले बताए । ‘आज केपी ओलीसँग हामीसँगै सरकारमा छौं । हामी इमानदारितापूर्वक यो सरकारलाई लिएर जान चाहन्छौं । किनकी हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौं । हामी परिणाम दिन चाहन्छौं,’– उनले भने ।

साथै, उनले केही राजनीतिक दलहरुले मिसन ०८४ को अभियान चलाइरहेको बताउँदै उनले त्यसको कुनै औचित्य नरहेको दाबी गरे । महामन्त्री थापाले अरुले ०८४ को चिन्ता गरिरहँदा ८१, ८२ र ८३ को जिम्मा लिन कांग्रेस तयार रहेको बताए ।

‘मिसन ०८४ भन्ने कुराको म कुनै पनि अर्थ देख्दिनँ । ०८४ को कुरा छोड्नुस् । ८१, ८२ र ८३ को जिम्मा कसले लिन्छ ? जिम्मा लिन कोही चाहँदैन । नेपाली कांग्रेस त्यसको जिम्मा लिन चाहन्छ । हामी काम गर्न चाहन्छौं, परिणाम दिन चाहन्छौं,’– उनले भने ।

साथै, उनले पार्टीका उम्मेदवार कृष्णमान डङ्गोललाई अत्याधिक बहुमतले कीर्तिपुरको मेयरमा विजयी गराउन पनि अपिल गरे ।