८ बैशाख २०८१, शनिबार

अहिलेसम्म नेपालको विकास नहुनुमा सोच र चिन्तनको अभाव: ओली

KP OLi 6
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच र चिन्तनको अभाव रहेको बताएका छन् ।

ललितपुरको गोदावरीमा आज युवा संघ नेपालले आयोजना गरेको ‘युवासँग म’ कार्यक्रममा उनले भने,“अहिलेसम्म विकास किन भएन भन्दा विकासप्रति सोच र चिन्तन भएन । विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेरी नीति निर्माण भएन ।” उनले सबै क्षेत्रको उन्नतिबाट मात्र समाजको विकास हुनसक्ने बताए ।

अध्यक्ष ओलीले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आह्वान गरे । उनले नेपाल विकसित नुहने कुनै कारण नरहेको, ब्रेन पावरमा नेपाल पुर्खाको पालादेखि नै अग्रणी रहेको बताउँदै विद्युत्को प्रयोग बढाएर मुलुकलाई अर्थतन्त्रमा स्वावलम्बी बनाउन आवश्यक रहेको बताए ।

अब देशको तीव्र विकास संख्यात्मक नभइ गुणात्मक तरिकाले गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले शिक्षा प्रणालीमा केही समस्य रहेको र जीवनोपयोगी प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने बताए ।

कार्यक्रममा युवाहरुले आयात प्रतिस्थापन हुने गरी ठोस कार्यक्रम ल्याउन, संविधानले व्यवस्था गरेको मौलिक हकहरुको कार्यान्वयनमा विशेष ध्यान दिन ओलीलाई आग्रह गरेका थिए ।