Close Me
१३ चैत्र २०८१, बिहीबार

गगन थापा भन्छन्- ०८४ को निर्वाचनमा गठबन्धन गरौं भन्ने व्यक्ति अब कांग्रेसमा रहँदैन

gagan 2.jpg
फाइल फोटो

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले २०८४ को आम निर्वाचनअघि चुनावी गठबन्धन गरौं भन्ने व्यक्ति अब कांग्रेसमा रहन नसक्ने बताएका छन् । सुरुदेखि नै चुनावी गठबन्धनको विपक्षमा खरो बोल्दै आएका थापाले आज (सोमबार) चितवको खैरेनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले,‘कुनै बेला म एक्लै थिएँ । २०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ, त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेको, सकेनौं। अब सिंगो पार्टी आयो ।’

उनले संविधान, विधान र कानूनले ०८४ पछि पार्टीको महाधिवेशन गर्न नपाईने व्यवस्था गरेको स्मरण गराए । उनले ०८४ को निर्वाचनअघि नै महाधिवेशन गराउनुपर्ने भन्दै त्यसमा सबैको साथ चाहिएको सुनाए । उनले पार्टीको महाधिवेशन समयमै गर्नुपर्नेमा सबै चिन्तित रहेको बताए । त्यसको लागि चैत्रभित्र सदस्यता नवीकरणको काम सम्पन्न गर्न थापाको सुझाव छ ।