२० बैशाख २०८१, बिहीबार

सर्वेन्द्र खनाल, महेश बस्नेतविरूद्ध सरकारी वकील कार्यालयले पनि लिएन जाहेरी

district government attorney kidnap case

संसद अपहरण्को किटानी जाहेरी लिएर महानगरीय प्रहरी परिसर पुगेका जसपाका नेताहरुको उजुरी नलिएपछी जसपाका नेताहरु जाहेरी दिन सरकारी वकीलको कार्यालयमा मंगलबार दिउँसो पुगेका थिए ।

पूर्वराज्यमन्त्री एवं जसपाका नेता डा.सुरेन्द्र यादव लगायत नेताहरू पुगे पनि अपहरणको जाहेरी दर्ता अस्वीकार भएको छ । करीब साढे २ घण्टासम्म छलफल गरे पनि सरकारी वकीलको कार्यालयले जाहेरी दर्ता गर्न अस्वीकार गरेको नेताहरूले बताएका छन्।

राजेन्द्र महतोले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने “हामीलाई छलफल गर्न केही समय दिनुस् अहिले नै जाहेरी दर्ता गर्न सक्दैनौँ भन्ने जवाफ दिइयो”, उनले भने, “जाहेरी दर्ता नभएपछि हामी फर्किएका छौँ।” । उनले सरकारी वकील कार्यालयले पनि जाहेरी लिन नमानेपछि अब के गर्ने भन्ने विषयमा कानूनी छलफल गरेर अघि बढ्ने बताए।

त्यस्तै सरकारी वकील कार्यालयले आफूले अध्ययन गरेर मात्र दर्ता गर्ने बताएपछि नेताहरू आक्रोशित भएका थिए ।

सरकारी वकील कार्यालयले जाहेरी लिन नमानेपछि डिआइजी कार्यालय वा सर्वोच्च अदालतबाट सत्तारूढ नेकपाका सांसदद्वय र पूर्वप्रहरी महानिरीक्षकविरूद्ध जाहेरी दिने तयारी छ।

जसपाका नेताहरू जाहेरी दिन पुगेलगत्तै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ता पनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका चारजनाविरुद्ध साइबर अपराध अन्तर्गत् जाहेरी दिन पुगेका थिए।

सो क्रममा केहीबेर जसपाका नेता र अनेरास्ववियूका कार्यकर्ताले एकअर्काविरुद्ध नारावाजीसमेत गरेका थिए। दुवै पक्षका नेताहरू जाहेरी दिन भन्दै ठूलो संख्यामा सरकारी वकीलको कार्यालय पुगेपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको थियो।